शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

आयस्तरमा आँच पुर्‍याउने काम नगर

बुधवार , बैशाख १९, २०८१

सिन्धुलीबाट वर्षेनि हजारौँ युवाहरु विदेशिने गरेका छन् । समाजमा सबैको आर्थिक अवस्था समान छैन । काम गरी खाने र काम गराएर खानेहरु छन् नेपाली समाजमा । अझ नेपालजस्तो कृषिमा केन्द्रीत अर्थतन्त्र भएको समाजमा अधिकांश परिवारलाई वर्षभरी खान पुग्दैन । उत्पादन गरेको अन्नले वर्षभरी नपुग्ने परिवार र किसानका लागि राज्यले नै अनुदान र सहुलियत उपलब्ध गराउँदै आएको छ । अनुदान र सहुलियत उपलब्ध गराउनुको मुख्य उदेश्य लक्षित वर्गको आयस्तर बृद्धि गर्ने र उत्पादन बढाएर आत्मनिर्भर बनाउने नै हो । तर, सरकारले दिने त्यस्तो अनुदान वास्तविक किसान र लक्षित वर्गले नपाउने समस्या छ । सत्ता, सरकार र राजनीतिक नेतृत्वकै वरिवरीकाले लाभ लिन गरेका छन् । किसानका नाममा बाँडिने अनुदान दलका कार्यकर्ताले कुम्ल्याउने गरेका छन् ।

सरकारले सबैलाई समान व्यवहार गर्नु पर्दछ । विधि र प्रक्रिया अनुसार नै काम गर्नु पर्दछ । शक्ति र पहुँचवालाको छायाँमा परेर गरिने काम हितकर हुन सक्दैन । यसर्थ लक्षित वर्गको हातमा सरकारी अनुदान पुग्नु पर्दछ । जसले वास्तविक कृषि कर्म गरेका छन्, उनीहरुलाई मात्र अनुदान उपलब्ध गराइनु पर्दछ । कागजमा कृषि फर्म देखाउने, अनुदान लिएपछि हराउने र सरकारी अनुदानको दुरुपयोग गर्नेहरुलाई चिन्न जरुरी छ । वास्तविक र लक्षित वर्गको सही पहिचान गरेर मात्र अब तोकिएको अनुदान वितरण हुनु पर्दछ । पहुँचवालालाई होइन, विपन्नहरुलाई अनुदान पाउने अवस्था हुनुपर्छ । अतः राज्यको सेवा, सुविधा लक्षित वर्गसम्म पुर्‍याउन निगरानि र अनुगमनको जरुरी छ ।

प्रतिक्रिया