सिन्धुली– सुख्याम सुरु भएसँगै सिन्धुलीका अधिकांश ठाउँमा खानेपानीको मुहान सुक्न थालेको छ । खडेरीले मुहान सुक्दा कमलामाई नगरपालिकासहित नौँवटै स्थानिय तहका अधिकांश क्षेत्रमा पानीको हाहाकार भएको हो । वर्षा नहुँदा कमलामाई नगरपालिकाको खट्टार, सातपत्रे, जामुन्टार, रायडि, देउराली लगायतका ठाउँमा पानीको हाहाकार मच्चिएको स्थानीयले गुनासो गरेका छन् । ‘धाराबाट पानी झर्नै छाड्यो’, कमलामाई नगरपालिका ४ का सरिता विकले भन्नुभयो, ‘गत वर्ष पनि यो समय यस्तै समस्या भोग्नु परेको थियो, पानीका लागि अहिले त दिनभर कुरेर बस्नुपर्ने भएको छ ।’ वर्षेनी सुख्याम सुरु भएपछि यस क्षेत्रमा खानेपानीको समस्या हुने गरेको उहाँले बताउनुभयो । धारामा पानी सुक्दा झण्डै एक घण्टा लगाएर खानेपानी लिन जानुपर्ने बाध्यता रहेको उहाँले गुनासो गर्नुभयो ।
‘विहान र बेलुका पानी आउने धारामा अहिले तीन दिन भयो नआएको, घरबाट झण्डै एक घण्टा लगाएर खोला नजिक मुहानमै खानेपानी लिन पुग्नुपर्छ । मुहानमा पनि पानी नै छैन । पानी परेन भने केहि दिनपछि त खानेपानी पाउन मुस्किल पर्छ’, उहाँले भन्नुभयो । कमलामाई नगरपालिकाका धेरैजसो बस्तीमा खोल्सी र जरुवाको पानी संकलन गरि वितरण हुदैँ आएको छ । यस वर्ष हिउँदे वर्षा नहुँदा खोल्सी र जरुवाका मुहान चाँडै सुक्दा पानीको समस्या भएको स्थानीय बताउँछन् । केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा पनि अप्राकृतिक समस्या देखिन थालेका वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् । खानेपानीको मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र होइन, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको वातावरण संरक्षणकर्मीहरुको भनाइ छ । जिल्लाका अधिकांश गाउँमा खानेपानीका आयोजना छैनन् । भएका योजना पनि मर्मत संभार र मुहान सुक्दा बन्द भएका छन् । अधिकांश विद्यालयमा समेत पानी छैन । डाँडामा रहेका विद्यालय नजिक पानीका मुहान नहुँदा बालबालिका घरबाटै बोकेर पानी लैजानुपर्ने बाध्यता रहेको छ । वर्षातमा खानेपानीको समस्या खासै नहुने भए पनि सुक्खा मौसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय बासिन्दा काकाकुल बन्ने अवस्था रहेका स्थानिय बेचुमायाँ कार्कि बताउनुहुन्छ । ‘गर्मी सुरु भयो, गाउँमा खानेपानीको समस्या सुरु भइसक्यो, अबको १ महिना हामीलाई निकै सकस हुन्छ।’ कमलामाई नगरपालिकाको दर्जनौं गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीय बासिन्दा खानेपानीको समस्या झेल्दै आएका छन् । पानीका मुहान सुक्न थालेपछि स्थानीयवासी पानीका लागि घण्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन् । अधिकांश बस्तीमा कुवा र पोखरीबाट खानेपानी उपभोग गर्दै आएका स्थानीयवासी खानेपानीको मुहान सुक्दै गएपछि निकै चिन्तित बन्दै गएका छन् ।
वर्षेनी सुख्यामको समयमा यहाँका स्थानीयले खानेपानीको समस्या भोग्दै आएपनि स्थानिय सरकारले व्यवस्ता गर्ने गरेको स्थानियले आरोप लगाएका छन् । ‘सुख्याम सुरु हुनुअगाडि पुर्वतयारी खानेपानी संकलन गरेको भए आज यो समस्या हुन्न थियो’ स्थानिय सुमन लामिछानेले भन्नुभयो, ‘खानेपानी आयोजनाका लागि वर्षेनी लाखौँ बजेट पनि आउँछ तर ती सबै बजेट ठुलाठुला मान्छे मिलेर खाने र काम भने नगर्ने पव्रिधि छ ।’ खानेपानी समस्या समाधानका लागि स्थानिय सरकारले पनि कुनै पहल नगरेको एक स्थानियले बताए । उनले नाम उल्लेख नगर्ने शर्तमा भने, ‘नगरपालिकाका मेयर यहि ठाउँका हुन्, उहाँको छिमेकमा खानेपानीको समस्या छ । उहाँकै घरको धारामा पनि पानी आउँदैन, उहाँ आफ्नो घरमा नगरपालिकाबाट दमकल ल्याएर पानी भर्नुहुन्छ ।’
के भन्नुहुन्छ कमलामाईका मेयर पोखरेल ?: नगरपालिकामा सुख्याममा खानेपानीको समस्या देखिपनि पालिकाले कुनै पहल गर्न नसक्ने मेयर उपेन्द्र पोखरेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘वर्षेनी यस्तो समस्या देखिए पनि हामीले केहि गर्न सक्दैनौँ, पानीको मुहाननै सुकेपछि के गर्ने ? खानेपानी आयोजना निर्माण भएपनि जनसंख्या बढी भएकाले पानी पुग्दैन ।’ उहाँले खानेपानीको समस्या समाधान गर्न स्थानिय सरकारको क्षेत्रअधिकारभित्र नपर्ने बताउनुभयो । साथै, उहाँले खानेपानीको समस्या समाधान गर्न केहि गर्न नसक्ने भन्दै पन्छिनुभयो ।