शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जनतासँग रिसिबि साँध्ने कस्तो जनप्रतिनिधि ?

सोमवार , बैशाख १७, २०८१

जनताको प्रतिनिधिले नै जनतासँग रिसिबि साँधेपछि के होला ? जनताको हरिबिजोग हुँदा जनप्रतिनिधिले आँखा चिम्लिएर बस्नु कतिको जायज छ ? यी र यस्तै गुनासो सिन्धुलीका नागरिकले बारम्बार गर्दै आएका छन् । चुनावमा सहयोग नगरेको भन्दै राज्यको सेवा, सुविधा वितरणमै भेदभाव गर्ने जनप्रतिनिधि नागरिकको अभिभावक कसरी हुन सक्छन् ? आलोचना सहन नसक्ने जनप्रतिनिधिले रिसिबि साँधेर भेदभाव गर्ने प्रवृद्धि सिन्धुलीमा छ । स्थानिय तहका जनप्रतिनिधिदेखि प्रदेश र संघबाट निर्वाचित सांसदको हेपाहा र रिसिबि साँध्ने प्रवृद्धिबाट यहाँका स्थानिय आजित भएको अवस्था छ ।

वर्षौँदेखि घना वस्ति भएको ठाउँमा सडक नपुग्नु, खानेपानीको सुविधाबाट नागरिक वञ्चित हुनु, राज्यको लोककल्याणकारी सुविधामा रोक लगाउनु लगायत दुख दिने मनसायले नागरिकलाई हैरानि दिने काम जनप्रतिनिधिबाट हुनुहुदैँन । तर, सिन्धुलीमा यस्ता प्रवृद्धिले जरा गाँडेर बसेको अवस्था छ । ‘मुखिया नै बाटो मिचुवा’ भएपछि यहाँका नागरिकले सास्ती व्यहोर्नुपरेको छ । लोकतन्त्रमा वाक स्वतन्त्रता हुन्छ । तर, जनप्रतिनिधिले लोकतन्त्रको धज्जी उडाउदैँ आफूविरुद्ध आवाज उठाउनेलाई बन्देजको राजनिति गर्दै आएका छन् । तसर्थ, नागरिक समाज, विद्यार्थी लगायत सरोकारवाला निकायले जनप्रतिनिधिको गलत रवैया विरुद्ध आवाज उठाउन जरुरी छ ।

अभिभावकले परिवारका सदस्यलाई भेदभाव गर्नु गलत हो । राज्यको अधिकारप्राप्त निकायमा बसेर कसैलाई काँखा, कसैलाई पाखा गर्नु बेथितिको पराकाष्ठ हो । तसर्थ, जिल्लाका राजनैतिक दल लगायत सरोकारवाला निकायले जनता र जनप्रतिनिधिबिचको सम्बन्ध कायम राख्न मध्यस्तकर्ताको भुमिका निभाउन जरुरी छ ।

प्रतिक्रिया