शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीका अवैद्य उद्योगको पहिचान गर

शनिवार , बैशाख १५, २०८१

सिन्धुलीमा क्रसर उद्योग फस्टाईरहेको छ । विभिन्न तिग्डम लगाएर अवैद्य रुपमा क्रसर संचालन भइरहदापनि जिल्ला समन्वय समिति, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय लगायत सरोकारवाला निकाय मौन छन् । सिन्धुलीमा लामो समयदेखि प्राकृतिक श्रोत साधनको पूर्ण सदुपयोग हुन सकिरहेको छैन । ढुंगा, गिट्टी, बालुवा उत्खनन व्यवस्थित नहुँदा एकातिर स्थानीय तहले प्राप्त गर्ने राजश्व संकलनमा समस्या छ भने अर्कोतिर चोरी निकासी र मापदण्डभन्दा बाहिर गएर उत्खनन गर्दा खोला तथा नदीमा प्रतिकूल असर परिरहेको छ । यो लामो समयदेखि चल्दै आएको समस्या हो । संवैधानिक अधिकार प्राप्त स्थानीय तहले नदीजन्य पदार्थको उत्खनन् र व्यवस्थापनलाई प्रभावकारी बनाउन नसक्नु दुःखद हो । यतिसम्मकि जनप्रतिनिधि र राजनैतिक दलका कार्यकर्तानै अवैद्य उत्खनन्मा संलग्न रहेको विभिन्न घट्नाले देखाउँछ ।

अहिले जिल्लाका स्थानीय तहले ढुंगा, गिट्टी, बालुवा उत्खननको लागि ठेक्का लगाउन सूचना जारी गरे पनि अधिकांश स्थानमा ठेक्का लाग्न सकेको छैन । नदीको आडैमा खुलेका क्रसर तथा बालुवा प्रशोधन उद्योगमा गिट्टी, बालुवाको थुप्रो छ । ठेक्का नलागेरै उद्योगहरुमा नदीजन्य वस्तुको थुप्रो बढ्दै जानुुले धेरैलाई झस्काएको हुनुपर्छ । त्यसो त क्रसर उद्योगहरुले जम्मा गरेको गिट्टी, बालुवाको स्टक प्रमाणित पनि गराएका छैनन् । उद्योगमा संकलन भएको, बिक्री भएको र बाँकी रहेको गिट्टी, बालुवाको विवरण स्थानीय पालिकाको इञ्जिनियर मार्फत प्रमाणित गर्नुपर्ने प्रावधान छ तर यो काम उद्योगले गराएका छैनन् । यसले स्थानीय श्र्रोत र राजश्व संकलनमाथि चुनौती थपिदै गएको छ । नदीजन्य वस्तुलाई सीमित व्यक्तिहरुको लुटको धन्दा बन्नबाट रोक्न स्थानीय तहहरु थप जागरुक बन्न आवश्यक छ । मापदण्डभित्र आउँदैनन् भने त्यस्तो व्यवसाय बन्द गर्न पाउने अधिकार पनि कानुनले निर्दिष्ट गरेको छ । अतः अवैद्य धन्दाको भण्डाफोर गर्दै कार्वाहीको दायरामा ल्याउन सम्बन्धित निकाय चनाखो हुन जरुरी छ ।

 

प्रतिक्रिया