शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

दमकल कर्मचारीको सुरक्षामा ध्यान देऊ

बिहिवार , बैशाख १३, २०८१

सिन्धुलीमा रहेको दुईवटा दमकलका कर्मचारीहरुको व्यस्तता बढेको छ । वनमा लागेको डढेलो नियन्त्रणकालागि जिल्लाका नौँवटै स्थानिय तहमा दमकल पुगिरहेको छ । आगलागी मानवसिर्जित विपद् हो । यसबारे सर्वसाधारणमा रहेको चेतनाको आधार हेर्दा सिन्धुलीमा अग्नि जोखिम बढी देखिन्छ । आगलागी हुन नदिन पूर्वतयारी स्वरूप सर्वसाधारणमा जनचेतना वृद्धि गर्ने तथा आगलागी भइहाले प्रतिकार्य गरी क्षति न्यूनीकरण गर्न दमकल स्टेसनको व्यवस्था हुन जरुरी छ । त्यस्तै, दमकल कर्मचारीको सुरक्षामा जिम्मेवार निकाय गम्भिर नभएको आरोप लाग्दै आएको छ । आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन देखिएको छ । तसर्थ? नगरपालिका र गाउँपालिका अन्तर्गत कार्यरत दमकल कर्मचारीलाई सुरक्षाको भरपर्दो व्यवस्था र सम्मानजनक वेतनको आवश्यकता छ । राज्यले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक नदिएपनि विपद् जोखिम न्यूनीकरणको काममा दमकल कर्मचारी खटिएका छन् ।

समयानुकूल नियमित तालिम, जीवन बीमा, व्यक्तिगत सुरक्षा उपकरण, सम्मानजनक पारिश्रमिक लगायत दमकल कर्मचारीको आवश्यकतालाई सम्बोधन गर्न स्थानिय सरकार चुक्नुहुदैँन । मुख्यतः कर्मचारीको सुरक्षा सवालमा सरोकारवाला निकाय गम्भिर नहुने हो भने आगामी दिन मानविय क्षति नहोला भन्न सकिन्न । तसर्थ, जिल्लामा कार्यरत दमकल कर्मचारीलाई सम्मान गर्दै उनीहरुको समस्या समाधानमा सम्बन्धित निकायले चासो देखाउन जरुरी छ ।

प्रतिक्रिया