गर्मि मौसम शुरु भएपछि सिन्धुलीका दर्जनौँ सामुदायीक वनमा आगलागी भएको छ । हरेक वर्ष जिल्लामा हजारौँ क्युफिट रुख सहित वन्यजन्तु लगायत मानविय क्षति हुने गरेको छ । वर्षेनि आगलागीले वितण्डा मच्चाउदा समेत यहाँका सरोकारवाला निकाय मौन बस्ने गरेका छन् । आगो लागेपछि नियन्त्रण गर्न कठिनाई हुन्छ । दमकलनै नपुग्ने ठाउँबाट आगो सल्किन थालेपछि टुलुटुलु हेर्नुको विकल्प छैन । तर, आगो लाग्न नदिन जिम्मेवार निकाय गम्भीर भएको देखिदैँन । सामुदायिक उपभोक्ता वन समिति, वन कार्यालय, स्थानिय सरकार लगायत सरोकारवाला निकायले समयमै आगलागीले निम्त्याउने समस्याको पहिचान गर्न नसक्दा समस्या विकराल हुने गरेको छ । जोखियुक्त बस्तिको पहिचानसँगै वन क्षेत्रमा हिँड्डुल गर्न कडाई गर्ने हो भने केहि हदसम्म क्षति न्युनिकरण हुन सक्छ । तर, अधिकार प्राप्त निकायले आगलागी नियन्त्रण गर्न प्रचारप्रसार बाहेक उपलब्धिमुलक काम गर्न नसकेको अवस्था छ ।
मानविय त्रुटीसँगै जानाजान वनमा आगो लगाउने काम भइरहेको छ । तसर्थ, जोखिमसँग लड्न समुदाय लक्षित बृहत कार्यक्रम संचालन गर्न जरुरी छ । सामुदायिक वन उपभोक्ता समितिका सदस्यलाई आगो निभाउने सिप, आग्लागीबाट बच्ने उपाय र सुरक्षाको विषयमा प्रशिक्षण दिन आवश्यक छ । अतः जोखिमसँग लड्न जिम्मेवार निकाय गम्भिर नहुने हो भने आगामी दिनमा वन डढेलोले थप मानवियसँगै भौतिक क्षति नपु¥याउला भन्न सकिन्न ।