शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

टोल विकास समितिलाई सक्रिया बनाऔँ

आइतवार , बैशाख ९, २०८१

स्थानीय तहसँग मिलेर सामाजिक काम गर्ने गरी खुलेका टोल विकास समितिले सोचे अनुसार काम गर्न नसकेको स्थानियले बताएका छन् । समाजमा देखिएका विकृति र विसंगतिसँगै रचनात्मक कामकालागि स्थापना गरिएका गैर नाफामूलक संस्था टोल विकास समितिमा समेत आर्थिक अनियमितता र भ्रष्टाचार हुने गरेको विभिन्न घट्नाले देखाएको छ । टोल सरसफाई, बाटो तथा ढलको सरसफाइ, खानेपानीका मुहान र पाइपहरुको मर्मत लगायतका काममा टोल सुधार समिति वा टोल विकास संस्थाले योगदान पुर्‍याइरहेका छन् । तर, पछिल्लो समय टोल सुधार समिति वा टोल विकास संस्थाहरु भ्रष्टाचार हुने नयाँ अखडाका रुपमा विकास भइरहेको पाइएको छ । स्थानीय तहले पनि सार्वजनिक खरिद ऐन २०६३ विपरित यस्ता टोल सुधार समिति वा टोल विकास संस्थाहरुलाई निर्माण कार्यको जिम्मा दिने गरेको पनि पाइएको छ । स्थानीय सरकारबाट टोल सुधार समितिले पाउने बजेट दुरुपयोग हुने गरेको देखिएको छ ।

टोल विकास समितिको जिम्मेवार पदाधिकारीले बजेट लगेर काम नै नगरेको आरोप लाग्दै आएको छ । सिंहदरबारमा रहेको भ्रष्टाचार गाउँ गाउँमा फैलिएको छ । उपभोक्ता समिति हुँदै टोल सुधार समिति र टोल विकास समितिका नाममा तल्लो तहमा भ्रष्टाचार संस्थागत हुने जोखिम बढिरहेको छ । भ्रष्टाचारले जरा फैलाउनु भनेको देश बर्बादीतिर जानु हो, बेलैमा यसको उपचार खोज्नुपर्छ ।

प्रतिक्रिया