शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

फोहोर व्यवस्थापनमा ध्यान देऊ

शुक्रवार , बैशाख ७, २०८१

सिन्धुलीका स्थानिय सरकारले फोहोरको व्यवस्थापन गरिरहेपनि स्थानिय सन्तुष्ट छैनन् । जिल्लाको राजमार्गसँगै भित्रि सडकखण्डमा यत्रतत्र फैलिएको फोहोरले यात्रुलाई समस्या हुने गरेको छ । हरेक वर्षायाममा जिल्लाको फोहोर व्यवस्थापनमा कठिनाइ हुँदै आएको छ । विशेष गरेर वर्षात्ले पहिरो ल्याउने र सडक बिग्रने भएकाले जिल्लावासि फोहोरको दुर्गन्धमा बस्न बाध्य छन् । वर्षायाममा संक्रामक रोग फैलने उत्तिकै डर हुन्छ । स्वास्थ्यमा सजगता अपनाउनुपर्ने बेलामा जताततै फोहोरै फोहोर व्याप्त भएपछि यसको जनस्वास्थ्यमा कति असर पु¥याइरहेको होला ? सहजै अनुमान गर्न सकिन्छ । फोहोरमाथि झिंगा बस्ने र त्यसले फोहोरको संवाहन त गर्छ नै, त्यसमाथि बगेको पानी घर–घरमा पुग्छ, विभिन्न माध्यमबाट ।

सिन्धुलीमा बस्नेहरूको आनीबानीले पनि अनावश्यक फोहोर उत्पन्न गराइरहेको छ । अहिलेको करिब ७० प्रतिशत फोहोर घरमै व्यवस्थापन गर्न सकिन्छ । तुरुन्त नष्ट हुने खालका फोहोरलाई पनि सडकमा ल्याएर ओइ¥याउने गरिन्छ । जबकि त्यस प्रकृतिका फोहोर घरमा कम्पोष्ट मल बनाई करेसाबारीमा उपयोग गर्न सकिन्छ । जसले कैसी खेती वा करेसामा लगाइने तरकारी तथा फलफूललाई पोषक पुग्न सक्छ । जैविक फोहोर बाहिर ननिकाली घरमै उपयोग गर्न घरधनीलाई समस्या हुँदैन । डेरावाल र घरधनीबीच उचित समन्वय भयो भने डेरामा बस्ने व्यक्तिहरूले उत्सर्जन गर्ने फोहोर पनि घरमै व्यवस्थापन गर्न सकिन्छ । व्यवस्थापन गर्न सके फोहोर फोहोर होइन, कच्चा पदार्थ हो । यसको उपयोगमा स्पष्ट राष्ट्रिय नीति बनाउन आवश्यक छ । कतिपय फोहोर कवाडीमा बिक्री हुने प्रकृतिका हुन्छन् । त्यसलाई पनि सडकमै ल्याउने गरिएको छ । हामीकहाँ होटल, रेष्टुरेन्ट र घरमा मिल्काइएका खाना बढी हुन्छन् । जसले फोहोरको परिमाणमा अनावश्यक वृद्धि गराएको छ । अस्पताल र स्वास्थ्य निकायबाट उत्सर्जन हुने फोहोरलाई मात्र उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ । तसर्थ, सबै नागरिकले आन्तरिक फोहोर व्यवस्थापन कसरी गर्ने भन्ने जनचेतनाको खाँचो देखिएको छ ।

 

प्रतिक्रिया