सिन्धुलीका स्थानिय देखि तीन तहको सरकार मातहत रहेका विकासे शाखा तथा कार्यालयको प्रगति प्रतिवेदन निराशाजनक छ । विकास निर्माणसँग सम्बन्धित रहेको र सबैभन्दा बढी बजेट विनियोजित – गरिएको विकासे कार्यालयको पुँजीगत खर्चलाई हेर्ने हो भने निकै निराशाजनक छ ।
पुँजीगत खर्च गर्न नसक्ने अवस्था सिर्जित हुनुमा धेरै कारणहरु जिम्मेवार छन्, जस्तोः जसमा नीतिगतदेखि प्रक्रियागत त्रुटिहरुको भूमिका सर्वाधिक हुन्छ । संरचनागत समस्यादेखि बजेट निर्माणका क्रममा देखिने गरेका कमजोरीहरुले समेत पुँजीगत खर्च सोचेअनुरुप हुन नसक्नु अस्वाभाविक छैन । प्रणालीगतरुपमा अब पनि तिनमा सुधार गर्न सकिएन भने भविष्यमा समेत पुँजीगत खर्च प्रक्रियामा त्यसकै पुनरावृत्ति नहोला भन्न सकिन्न । विकास खर्च गर्ने भनेर विनियोजित गरिएको रकमलाई पुँजी निर्माणको आधारको रुपमा लिइन्छ । खर्चको सन्दर्भमा सोचेजस्तो लक्ष्य हासिल हुन नसक्दा त्यसको असर विकास निर्माणको क्षेत्रमा पर्दछ । हाल देशभरि नै जारी रहेका कयौँ विकास आयोजनाहरु बीचमै अलपत्र पर्ने, कामसमेत कमसल हुनेजस्ता समस्या पुँजीगत खर्चको उपयुक्त परिचालन नहुँदाकै परिणति हुन् । अबको समयमा विकास आयोजनाहरुलाई आवश्यक पर्ने स्रोत सुनिश्चित गरी तिनलाई यथोचित समयमै सम्पन्न गर्ने प्रक्रिया अवलम्बन गर्न सकियो भने एकातिर विकासले गति लिने र अर्कोतिर पुँजीगत खर्चसमेत अनुकरणीय हुनेछ । अतः विकासे खर्चलाई समयमै सदुपयोग गर्न सम्बन्धित निकाय गम्भिर हुन जरुरी छ ।