बिहीबारदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई) सिन्धुलीका २५ वटा परिक्षा केन्द्रमा भइरहेको छ । जिल्लाको दुईवटा नगरपालिका कमलामाईमा ६ वटा र दुधौलीमा ५ वटा परिक्षा केन्द्रबाट विद्यार्थीले एसइई दिईरहेका छन् । त्यस्तै, गाउँपालिकातर्फ तिनपाटनमा तीन, फिक्कलमा दुई, गोलन्जोरमा दुई, सुनकोशीमा दुई, घ्याङलेखमा एक, हरिहरपुरगढीमा दुई र मरिणमा दुईवटा परिक्षा केन्द्रबाट एसइई परिक्षा संचालन भइरहेको छ । चारवटा विषयको परिक्षा दिईरहदा विद्यार्थीले भने परिक्षा केन्द्रमा व्यवस्थापन पक्ष कमजोर रहेको गुनासो गरिरहेका छन् । कक्षाकोठामा पानीदेखि शौचालयमा सेनिटरि प्याडको समेत व्यवस्था नभएको विद्यार्थीले गुनासो गरेका छन् । एसइई परिक्षा संचालनकालागि भन्दै राज्यले राम्रै रकम निकासा गरेको छ । तर, के परिक्षा केन्द्रमा विद्यार्थीले पानी नपाउनु दुर्भाग्य हो । तसर्थ, आगामी परिक्षा संचालन गरिरहदा विद्यार्थीको न्युनतम आवश्यकतालाई मध्यनजर गर्दै व्यवस्थापन पक्ष चुस्त बनाउन सम्बन्धित निकाय चनाखो हुन जरुरी छ ।
त्यसैगरि, जिल्लाका केहि परिक्षा केन्द्रमा चिट चोर्ने र चोराउने क्रम बढेको विद्यार्थीको गुनासो छ । एसइई मर्यादित नभएको विद्यार्थीले आक्रोश पोखेका छन् । आफैँ पढेर परिक्षा उत्तिर्ण गर्छु भन्नेलाई परिक्षा केन्द्रको अवस्थाले मुश्किल बनाएको आरोप लागेको छ । तसर्थ, एसइई परिक्षा संचालनमा देखिएका कमजोरीको समाधान गर्नतर्फ सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । त्यस्तै, निजि विद्यालयका विद्यार्थीले परिक्षा दिईरहेको परिक्षा केन्द्रमा खुकुलो पार्ने र केहिमा कडाई गर्दा आशंका उब्जिएको हुँदा जिल्ला प्रशासन, जिल्ला शिक्षा समन्वय इकाई लगायत सरोकारवाला निकाय सचेत हुन जरुरी छ ।