आजबाट माध्यमिक शिक्षा परीक्षा (एसइई) अर्थात् कक्षा १० को परीक्षा मुलुकभरि सुरु हुदैँछ । सिन्धुलीबाट एसइईमा पाँच हजार तीन सय १५ जना विद्यार्थी सहभागि हुदैँछन् । एसइई परीक्षाप्रति देशभरीका लाखौँ परीक्षार्थी तथा उनीहरुका अभिभावको गहिरो चासो एवं प्रभाव हुने गरेको छ । विगतमा ‘उच्च शिक्षाको लागि फलामे ढोका’ भनेर पनि अथ्र्याइएको यो परीक्षाको शैक्षिक र सामाजिक महत्व अझै पनि उँचो मानिन्छ । कक्षा १० को यस अन्तिम परीक्षा एसइई विद्यार्थीहरूलाई उच्च शिक्षाका लागि नयाँ मार्गहरूको दिशानिर्देश गर्ने सम्बन्धमा निकै महत्वपूर्ण आयामका रूपमा रहँदै आएको छ । यसैबाट विद्यार्थीहरूले आफ्नो भविष्यका लागि कुन प्रकारको शिक्षा ग्रहण गर्ने उपयुक्त निर्णय गर्न सक्षम हुन्छन् । यस अर्थमा मुलुकको समग्र विकासमा सघाउ पुर्याउने दिशा तय गर्ने शिक्षा माध्यमका रूपमा पनि लिन सकिन्छ एसइईलाई । यस परीक्षामा सहभागी हुने सबै परीक्षार्थी कडा मिहिनेत तथा परिश्रमका साथ तयारी गर्नुको कुनै विकल्प छैन । रचनात्मक तथा तार्किक लेखन शैली, अध्ययनशील एवं विवेकपूर्ण व्यवहार नै विद्यार्थीका सफलताका सूत्र हुन् ।
विगतमा जस्तो पुराना परीक्षाका प्रश्नपत्र हल गरेर तथा गेस पेपर पढेकै भरमा उत्तीर्ण हुन कठिन हुँदैछ । विगतका प्रश्नपत्र दोहरिएर आउने कारणले विद्यार्थीमा सिर्जनात्मक शैलीको दाँजोमा यस्ता प्रश्न हल गर्ने बानी बस्दै गएकाले सम्बन्धित निकायले अब पटकै पिच्छे बेग्लै प्रश्नपत्रको व्यवस्था गर्ने नीति लिने भएको छ । यसबाट विद्यार्थीमा घोकन्ते प्रवृत्तिभन्दा सिर्जनात्मक तवरले अध्ययनलाई अगाडि बढाउने प्रवृत्तिले प्रश्रय पाउनेछ । यसलाई बोर्डको स्वागतयोग्य कदमका रूपमा लिन सकिन्छ । मिहिनेत अनि परिश्रमको समिश्रणबाट नै विद्यार्थीले भविष्यका सुनौला दिन रेखांकन गर्न सक्छन् ।
एसइई परीक्षा संचालन भइरहेको कक्षामा निरिक्षणको नाममा अनावश्यक मान्छेको भिड परीक्षा हलमा प्रवेश गर्ने गरेको विगतको तीतो यथार्थ छ । तसर्थ, विद्यार्थीलाई परीक्षा कोठामा कुनैपनि अवरोध वा बाधा नपुग्नेगरि व्यवस्थापनकालागि सम्बन्धित निकाय गम्भिर हुन आवश्यक छ । त्यसैगरि, विद्यार्थीलाई पानी, शौचालयमा स्यानिटरी प्याड लगायत आवश्यक सामाग्रीको उपलब्ध गराउन सम्बन्धित निकाय चुक्नुहुदैँन । राष्ट्रका कर्णधार विद्यार्थीले शान्ति र व्यवस्थित वातावरणमा परीक्षा दिन पाउनुपर्छ । यस पटकको एसईई परीक्षाका सबै परीक्षार्थीलाई सफलताको हार्दिक शुभकामना ।