नेपालमा सिँचाई, मल लगायत जनशक्ति नहुँदा खेत बाझै हुने गरेको छ । युरिया मलको अभावले गर्दा त झन् वर्षेनी किसानहरुले सोच अनुसार कृषिबाट आयआर्जन गर्न सकिरहेका छैनन् । नेपाल कृषिप्रदान देश हो । कृषिको प्रचुर संभावना रहेको देशमा कृषिलाई आधुनिक ढंगबाट संचालन गर्न सकिरहेको अवस्था छैन । युवाहरु यो पेशाप्रति आकर्षित हुन सकिरहेका छैनन् । जिम्मेवार निकायले कृषिमा परिवर्तन ल्याउन नसक्दा देशमा कृषि पेशालाई अंगाल्ने भन्दा पनि विदेशिनु ठिक भन्ने सोच युवाहरुमा छ । युवाहरुको यो सोचलाई परिवर्तन गर्न सरकारले खासै नयाँ नितिहरु ल्याउन सकिरहेको छैन । कृषक लक्षित नयाँ कार्यक्रमहरु ल्याएपनि प्रभावकारी ढंगबाट संचालन हुन नसकेको अवस्था छ । त्यसैले सम्बन्धित निकायले कृषिलाई थप आधुनिक र आकर्षित बनाउन थप गृहकार्य गर्न आवश्यक छ ।
सिचाईको अभावका कारण कृषकहरुले धेरै खेतियोग्य जमिन बाझै राख्नु परेको छ । आकाशे पानीमा भर पर्नुनै कृषकहरुकालागि मुख्य समस्या बनेको छ । सरकारले सिचाईलाई मुख्य प्राथमिकतामा राख्न सकिरहेको छैन । विगतका वर्षमा देखिएको समस्याहरुको अहिले सम्म पनि सम्बोधन हुन नसक्नु दुखद विषय हो । जुनै दल सरकारमा आएपनि कृषकहरुले सरकारको अनुभुति गर्न पाइरहेका छैनन् । कहिले मलको अभावले कृषकलाई चटारो हुने गर्दछ त कहिले पानीको अभावले कृषकहरु समस्यामा पर्ने गरेका छन् । तसर्थ, सम्बन्धित निकायले कृषकहरुको समस्यालाई सम्बोधन गर्न सक्नुपर्छ ।