सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित शनिबारे हाट बजार अव्यवस्थित भएको स्थानीयले गुनासो गरेका छन् । कमलामाई नगरपालिकाले वर्षेनि उक्त हाट बजारबाट लाखौँ रुपैँया उठाउने गरेको छ । चालु आर्थिक वर्ष २०८०/०८१ मा नगरपालिकाले शनिबारे हाट बजार वार्षिक आठ लाख १५ हजार बढी आम्दानी हुने गरि ठेक्का लगाएको छ । एक मुठा साग बेच्नकालागि पनि कर तिर्नुपर्ने उक्त हाटबजारमा शौच गर्न भने होटल धाउनु परेको व्यापारीहरुको गुनासो छ । झण्डै एक सय भन्दा बढि व्यापारीले शनिबारे हाटबजारमा व्यापार गर्दै आएका छन् । उक्त हाटबजारमा एउटामात्र शौचालय रहेपनि दुर्गन्धित र फोहोर छ । कर तिरेर व्यापार गर्दै आएका व्यापारीले लामो समयदेखि शौचालयको व्यवस्थापन गरिदिन नगरपालिकालाई आग्रह गरेपनि नगरले कुनै कदम चालेको छैन । तसर्थ, कर अनुसारको सेवा दिन नगरपालिका गम्भिर हुन जरुरी छ ।
जिल्लाको सदरमुकामस्थित सिन्धुलीमाढीको शनिबारे हाटबजारमा जिल्लाभरका स्थानिय किनमेलकालागि आउने गर्दछन् । ठूलो संख्यामा मान्छेको भिडभाड हुने ठाउँमा निर्वाध रुपमा मोटरसाइकल, टेम्पो लगायत सवारीसाधन गुडिरहेका हुन्छन् । किनमेल गर्न आएका उपभोक्ताले दुर्घटनाको जोखिम बढेको गुनासो गरिरहेको हुँदा सम्बन्धित निकायले उपभोक्ता र व्यापारीको हितमा काम गर्न जरुरी छ । अतः नौँवटै स्थानिय तहका स्थानिय एक्कठ्ठा हुने ठाउँलाई सफा र व्यवस्थित बनाउन जिम्मेवार निकाय अघि बढ्न आवश्यक छ ।