शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा संघीयतालाई दुहुनो गाई नबनाऔँ

शुक्रवार , चैत्र २, २०८०

सिन्धुलीका स्थानीय सरकार पहुँचवालाहरुकालागि दुहुनो गाईँ भएको छ । नेताका आसेपासे, धनाढ्य, व्यापारी लगायत पहुँचवालाले स्थानीय सरकारलाई कब्जामा लिएको स्थानीयको आक्रोश छ । करारमा कर्मचारी नियुक्ती देखि ठेक्कापट्टा लगायत हरेक क्षेत्रमा पहँुचवालाकै हालिमुहालि छ । गाउँगाउँमा सिंहदरबार भन्दा पनि गाउँगाउँमा भ्रष्टाचार, आर्थिक अनियमितता, कुशासन लगायत विविध सामाजिक विकृतिहरु भित्रिएको छ । सिन्धुलीमा नौँवटा स्थानीय तहका ७९ वटा वडा छन् । गाउँगाउँमा राज्यको संयन्त्र विस्तार भएपनि नागरिक राज्यकै सेवा, सुविधाबाट वञ्चित भएको अवस्था छ । मुख्यतः जनप्रतिनिधिको कमजोरी, कर्मचारीको बठ्याई, सरोकारवाला निकायको मौनता र उदासिन नागरिककै कारण सिन्धुलीमा विकास पछि परिरहेको छ । स्थानीय तहमा कमिशन बिना कामनै नहुने गरेको स्थानीय उपभोक्ता समितिका सदस्यहरु बताउँछन् । राज्यको संयन्त्रलाई मजबुत बनाउने दायित्व रहेको स्थानीय सरकारले आफैँ राज्यको निकायलाई कमजोर बनाइरहेको अवस्था छ । ‘काले, काले मिलेर खाऊ भाले’ भनेझैँ आधिकारिक व्यक्तिहरुले प्रक्रिया पुरा गरेरनै आर्थिक अनियमितता गरिरहेका छन् ।

हरेक वर्ष स्थानीय सरकारदेखि प्रदेश र केन्द्रबाट एउटा वडाकालागि एक करोडबढि बजेट विनियोजन हुने गरेको छ । तर, उक्त बजेट के, कस्ता काममा खर्च भएको भन्ने जानकारी समेत वडाबासीले पाउदैँनन् । योजना संचालन गर्दा वडापत्र नै नराख्नेदेखि आय, व्यय सार्वजनिक गर्न स्थानीय सरकार चुकेको छ । स्थानीय सरकारले अनावश्यक फजुल खर्च गरिरहेको हुँदा राज्यको लगानीलाई बालुवामा पानी हालेसरह नबनाउनकालागि नागरिक समाज, विद्यार्थी संगठन, पत्रकार लगायत सरोकारवाला निकायले आवाज उठाउन जरुरी छ । राज्यको संयन्त्रलाई मजबुत बनाउन सर्वप्रथम पदमा रहेका व्यक्तिको आचरणमा सुधार ल्याउन आवश्यक छ । अतः संघीयतालाई दुहुनो गाई नबनाउन सबै नागरिक सचेत हुन जरुरी छ ।

प्रतिक्रिया