सिन्धुली– गर्मी मौसम भित्रनै लाग्दा सिन्धुलीमा खानेपानीको समस्या बल्झिएको छ । वर्षेनि सदरमुकाम सिन्धुलीमाढी सहित जिल्लाका अधिकांश ठाउँमा सुख्खायाममा खानेपानीको समस्या हुने गरेको छ । दुःख माथि दुःख थपिनु त प्राकृतिक नियम न हो । सुख्खायाममै सिन्धुलीमाढीमा खानेपानी आपूर्ति गर्दै आएको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको दुईवटा मुहानमा फिल्टर बिग्रेपछि यहाँ खानेपानीको हाहाकारनै मच्चिएको छ ।
कमलामाई नगरपालिका ४ स्थित कार्तिके मल्लंगाउँ र पानीट्यांकीको मुहानको फिल्टर बिग्रदा आवश्यकता अनुसार खानेपानी आपूर्ति हुन नसकेको सिद्धेश्वर खानेपानी उपभोक्ता समितिका इन्जिनियर कृष्ण भुजेलले बताउनुभयो । दिनमा १० लाख लिटर पानी आपूर्ति गर्दै आएकोमा दुईवटा मुहानको फिल्टर बिग्रेपछि अहिले साढे दुई लाख लिटरमात्रै पानी आपूर्ति भइरहेको भुजेलले जानकारी दिनुभयो । बिग्रीएको फिल्टर परिवर्तन गर्न एक करोड रुपैँया लागत लाग्ने भुजेलले बताउनुभयो ।
थापाको अग्रसरता: नेकपा एमालेका केन्द्रिय सदस्य एवं २०७९ सालमा सम्पन्न प्रतिनिधिसभातर्फ सिन्धुलीको क्षेत्र नम्बर २ का उम्मेदवार मनोजजंग थापाले उक्त फिल्टर फेर्नकालागि आवश्यक पहल कदमी गरिरहनुभएको छ । केहि दिनमै बिग्रिएको फिल्टर फेर्न सहयोग जुटाइने थापाले बताउनुभयो । सुख्खायाममा खानेपानीको हाहाकार हुने भएकोले तत्काल दुईवटा फिल्टर परिवर्तन गर्न सम्बन्धित निकायमा थापाले ताकेता गरिरहनुभएको छ । बढ्दो जनसंख्या र शहरीकरणले सिन्धुलीमा आगामी १० वर्षमा खानेपानीको चरम समस्या हुने देखिन्छ । सोहि समस्यालाई समाधान गर्न थापाले संचालनमा रहेका आयोजनालाई व्यवस्थित बनाउन र मुहान थप गर्न दौडधुप बढाउनुभएको छ ।
प्रदेश विश्वविद्यालय बनाउन पहल: जिल्लाकोे कमलामाई नगरपालिका–६ मा अवस्थित सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूटलाई बागमती प्रदेशको प्राविधिक विश्वविद्यालयमा विकास गर्न थापाले कसरत गरिरहनुभएको छ । २०१४ मा स्थापना भएको सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्यूट प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को साझेदार संस्थाको रुपमा रहेको छ । यस संस्थाले जिल्ला समन्वय समिति तथा कमलामाई नगरपालिकासँगको संयुक्त सहकार्यमा स्नातक तहमा सिभिल इन्जिनियरिङ र कृषि (पशु विज्ञान) शिक्षाको पठनपाठन सञ्चालन गर्दै आएको छ । त्यस्तै, यस इन्स्टिच्यूटले काठमाडौँ विश्वविद्यालयसँग सम्बद्ध रही स्नातक तहमा प्राविधिक शिक्षा सिभिल इन्जिनियरिङ तथा सूचना प्रविधिका कक्षा पनि सञ्चालन गर्दै आएको छ । यस इन्स्टिच्यूटमा तीन सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेको संस्थाले जनाएको छ, जसमध्ये ३० प्रतिशत छात्रा छन् । सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटलाई बागमती प्रदेशको प्राविधिक विश्वविद्यालयमा विकास गर्न पहल गरिरहनुभएका थापाले भन्नुभयो, ‘जसरी कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस छ, त्यसरी नै सिन्धुली सामुदायिक टेक्निकल इन्स्टिच्युटलाई बागमती प्रदेशको प्राविधिक प्रदेश विश्वविद्यालय बनाउन ताकेता गरिरहेको छु ।’
¨ चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माणलाई प्राथमिकता
जापान सरकारले निर्माण गरेको बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्गको सिन्धुली–खुर्कोटखण्डमा ठुला सवारी साधन सञ्चालनमा समस्या आएपछि तत्कालिन केपी ओलीको सरकारले विकल्पकारुपमाा चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको थियो । झण्डै ५ किलोमिटर लामो सुरुङ मार्ग निर्माणका लागि ओलीको सरकारले आर्थिक वर्षमा २०७५÷०७६ मा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । सोहि आयोजनालाई यथाशिघ्र शुरुवात गर्न एमालेका नेता थापा सक्रिय रुपमा लागिपर्नुभएको छ । नेकपा एमालेले शुरु गरेको सुदूरपश्चिमको झुलाघाटबाट चुवाभञ्ज्याङ् सम्मको संकल्प यात्राको क्रममा पहिचान गरिएका देशभरिका पुर्बाधारमा यस चियाबारी खुर्कोट सुरुङमार्ग निर्माणको काम समेत रहेको थापाले जानकारी दिनुभयो ।