शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सेवाग्राहीलाई सास्ती नदेऊ

सोमवार , फाल्गुण २८, २०८०

सिन्धुलीमा राज्यको सेवा, सुविधा लिन सरकारी कार्यालय धाउने सेवाग्राहीले विविध किसिमका बाधा अड्चनको सामना गर्नुपर्छ । संघीयतासँगै गाउँगाउँमा सिंहदरबार आएपनि सेवाग्राहीको काम सम्पन्न हुन सिंहदरबार जान लाग्ने समय जतिनै खर्च हुने गरेको उनीहरुको गुनासो छ । कहिले कर्मचारी नभेटिने त कहिले जनप्रतिनिधि कार्यालयमा नआउँदा सेवाग्राहीले फर्खनुको विकल्प छैन । जिल्लामा रहेका ७९ वटा मध्ये अधिकांश वडाको काममा जनप्रतिनिधिलाई कुर्नुपर्ने बाध्यता रहेको वडाबासि गुनासो गर्छन् । वडाध्यक्षमात्र नभएर गाउँपालिका र नगरपालिकामा निर्वाचित जनप्रतिनिधिको रवैयापनि त्यस्तै छ । काम कुरा एकातिर, कुम्लो बोकि ठिमितिर भनेझैँ सामान्य उद्घाटनकालागि पनि कार्यालयको काम छोडेर जनप्रतिनिधि रिबन काट्न पुगेको दृश्य नियमित जस्तो सिन्धुलीमा देखिन्छ । यतिमात्र नभएर अन्य कर्मचारीलाई समेत सँगसँगै लगेपछि सेवाग्राहीको बिजोग नहुने कुरै भएन ।

सरकारी कार्यालयमा कर्मचारी भेटाउनै मुश्किल हुने गरेको सेवाग्राहीको दुखेसो छ । दुई घण्टा लामो बाटो छिचोल्दै सदरमुकाम आउँदा कर्मचारीनै नभेटेपछि खर्चसँगै समय खेर जाने गरेको सेवाग्राहीको गुनासो छ । तसर्थ, समय व्यवस्थापनकालागि कर्मचारीसँगै जनप्रतिनिधिले विशेष चासो देखाउन जरुरी छ । पुर्वनिर्धारित कार्यक्रमको बारेमा वडाबासिलाई सचेत गराउन सके कुर्नुपर्ने बाध्यता हट्नेछ । अतः सेवाग्राहीलाई सास्ती भइरहेको हुँदा सम्बन्धित निकायको ध्यानाकर्षण हुन जरुरी छ ।

प्रतिक्रिया