काठमाडौँ - सङ्क्रमणकालीन न्याय र राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको सन्दर्भमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र रास्वपालगायतका दलहरूबिच मिलेर जाने सहमति भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार मध्यरातसम्म चलेको बैठकमा मिलेर जाने विषयमा सहमति भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले यी सवालमा मिलेर जानुको विकल्प नभएको निष्कर्षका साथ सहमति जुटेको रातोपाटीलाई जानकारी दिए । ‘संसद्मा सङ्क्रमणकालीन न्यायसम्बन्धी जुन विधेयक थियो त्यसमा सहमति गर्ने भन्ने भएको छ । कानुनमन्त्रीज्यूले त्यसलाई रोकिदिनु भएपछि त्यसलाई अघि त बढाउनुपर्यो नि’, उनले भने, अघि बढाउने क्रममा भएको यो नयाँ छलफल हो । सङ्क्रमणकालीन न्याय र राष्ट्रियसभा अध्यक्षको विषयमा मिलेर जाने भन्ने छ ।’
यस्तै बालुवाटार निकट अर्को स्रोतले नयाँ गठबन्धन गरेर जाने विषयमा पनि सहमति जुटेको छ । यस विषयमा थप छलफल गरेर लिखित सहमति नै गर्ने गरी बालुवाटारमा मध्यरातसम्म बसेको बैठकमा सहमति भएको बालुवाटार स्रोतको भनाइ छ । ‘अब कुनै नाटकीय मोड नआए कांग्रेस नेतृत्वको सत्ता गठबन्धन भत्किएर नयाँ बन्ने तय भएको छ’, स्रोतले बतायो ।
बालुवाटार बैठकमा प्रधानमन्त्री प्रचण्डसहित एमाले अध्यक्ष केपी ओली, रास्वपाका सभापति रवि लामिछाने, जसपाका अध्यक्ष उपेन्द्र यादवसहित दोस्रो तहका नेताहरू पनि सहभागी थिए । उक्त छलफलमा हाललाई प्रचण्डलाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने गरी मोटामोटी सहमति पनि भएको छ ।
उक्त बैठकपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेलसहितका नेतासँग थप छलफल समेत गरेको स्रोतले जनाएको छ। यतिबेला बालकोटमा एमालेको सचिवालय बैठक बसिरहेको छ ।
दलहरूबिच सहमति जुटेसँगै सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक टुङ्ग्याउन सोमबार बिहान कानुन समितिको बैठक बोलाइएको छ । बैठकबाट सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको मस्यौदा प्रतिवेदन पास गर्ने तयारी छ । यसअघि गठबन्धनमा देखिएको खटपटकै करण कानुनमन्त्री धनराज गुरुङले थप समय चाहिने भन्दै आइतबार विधेयक पास गर्नबाट रोकेका थिए ।