शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

प्रविधिको दुरुपयोग नगरौँ

सोमवार , फाल्गुण २१, २०८०

सञ्चारको सशक्त माध्यम बनेको छ सामाजिक सञ्जाल । सर्वसाधारणले निकै नै मन पराएको सामाजिक सञ्जाल हो फेसबुक । फेसबुकमा धेरै मानिस जोडिएका छन् र को कहाँ कतिखेर हुन्छ भन्ने कुराको जानकारी तुरुन्त फेसबुकमा अपलोड गरिहालेको देखिन्छ ।

फेसबुकले मानिसको रुचि पत्ता लगाउन सजिलो भएको छ । सामान्य अवस्थामा मानिसले के गरिरहेको, के खाइरहेको, के पढिरहेको, कहाँ घुमिरहेको आदिलाई फेसबुकमा फोटोसहित सार्वजनिक गर्दा र अझ त्यसमा केही स्टेटस लेख्दा सामाजिक सञ्जालमा रहने वा फेसबुक पढ्नेहरुले सजिलै यस्ता कुरा थाहा पाउँछन् । पोस्टबाट मात्र नभएर कुन व्यक्ति वा कतिले के कस्तो फोटो वा स्टेटसलाई लाइक गरेका छन्, कमेन्ट गरेका छन् आदिबाट पनि रुचि र प्रवृत्ति थाहा पाउन सकिन्छ । यसै गरी फेसबुकमा आउने सामग्रीले सम्बन्धित मानिसको क्षमता तथा दक्षताको पनि जाँच भइरहेको हुन्छ ।

फेसबुकलाई कतिपयले मनोरञ्जनको रुपमा लिने गरेका छन् । हुन पनि हो, मनलाई शान्ति दिने वा मनलाई बहलाउने एउटा माध्यम फेसबुक भएकोले मनोरञ्जन स्वाभाविक पक्ष हुन जान्छ तर यसलाई मनोरञ्जनमा मात्र सीमित गरिएको पाइन्न । कतिपय कष्ट तथा पीडाहरु पनि यसमा सार्वजनिक गरिएका हुन्छन् । धेरैले यसै माध्यमबाट सहयोग पनि पाएका छन् र कतिपयले नवीन विचार प्रस्तुत गर्ने थलोको रुपमा पनि यसलाई लिएका छन् । गम्भीर प्रकृतिका लेख, कविता तथा दार्शनिक विचारहरु पनि सामाजिक सञ्जालमा आउँछन् । यसले लोकप्रियताको एउटा मापदन्ड पनि स्थापित गरिसकेको देखिन्छ । यसकारण फेसबुकको मोहले एक किसिमले फेसबुकमा आफूलाई सार्वजनिक गर्ने प्लेटफर्म देखाएको होइन, एउटा सानो संसारको संस्कार निर्माण गरेको पनि देखिन्छ । यद्यपि यसको दुरुपयोगबाट भने जोगिनै परेको छ ।

प्रतिक्रिया