शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

निर्णय कार्यान्वयन गर

बिहिवार , फाल्गुण १७, २०८०

सिन्धुलीको कमलामाई नगरपालिकाले सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीयता कायम गर्न बुधबार महत्वपुर्ण निर्णय गरेको छ । नगरपालिकाको कार्यपालिका बैठकले पालिका मातहतका वडासम्मका निर्वाचित जनप्रतिनिधि, पालिका तथा वडामा कार्यरत कर्मचारी र सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेसँगै सामुदायिक विद्यालयका अभिभावक उत्साहित देखिएका छन् । जिल्लाका नौँवटै स्थानिय तहले हरेक वर्षको बजेटमा सामुदायिक विद्यालयको स्तरोन्नतिकालागि पहिलो प्राथमिकता दिएपनि उपलब्धि सन्तोषजनक छैन । सिन्धुलीका सामुदायिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षदेखि शिक्षक र प्रधानाध्यापक नियुक्तिमा राजनैतिक हस्तक्षेप हुने गरेको छ । राजनैतिक हस्तक्षेपकै कारण राज्यको लगानी बालुवामा पानी हाले सरह भइरहेको छ । त्यसैगरि, स्थानिय तह मातहतको शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई लगायत जिम्मेवार निकायले आफ्नो भुमिका निभाउन नसक्दा सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय हुन सकेको छैन ।

जे जस्तो भएपनि कमलामाई नगरपालिकाले निति निर्माताका बालबालिकालाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय गरेसँगै शिक्षामा सुधार आउने अपेक्षा गरिएको छ । निति निर्माताले सामुदायिक विद्यालयको अभिभावकको भुमिका निभाउन सके समग्र शिक्षा क्षेत्रको विकास हुने देखिन्छ । तर, निर्णय गर्ने र कार्यान्वयनमा गम्भिर नहुने प्रवृद्धिले कमलामाई नगरपालिकाको निर्णयप्रति अभिभावकलाई अझैँपनि शंका व्यक्त गर्ने ठाउँ दिएको छ । तसर्थ, स्थानिय सरकारले सामुदायिक विद्यालयको शिक्षा सुधारमा थालेको सराहनिय प्रयासलाई कार्यान्वयन गर्न गम्भिर हुन जरुरी छ । अतः सबैको पहुँचमा रहेको सामुदायिक विद्यालयको स्तरोन्नतिमा सरोकारवाला निकाय एक्यबद्ध हुन आवश्यक छ ।

प्रतिक्रिया