शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

रगतको व्यवस्थापनमा सहकार्य गर

बुधवार , फाल्गुण १६, २०८०

सिन्धुलीमा रगतको अभाव नभएपनि व्यवस्थापनमा कमजोरी हुँदा बिरामीले रगत नपाएको गुनासो आइरहेको छ । परोपकारी संस्था नेपाल रेडक्रस सोसाईटीले जिल्लामा रगतको आपूर्ति गरिरहेको छ । तर, भनेको समयमा रगत नपाइने गुनासो बढ्दो छ । उपचारका क्रममा चिकित्सकबाट माग भएको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू पुर्‍याउन सरोकारवाला निकायले उचित प्रबन्ध गर्न नसक्दा अधिकांश बिरामी र तिनका आफन्तले सामाजिक संजालमा हारगुहार गर्दै सेवाको लागि सम्र्पक गर्ने गरेका छन् । रगत संकलन र वितरणमा समन्वय हुन नसक्दा रगतको खोजिमा बिरामी र आफन्तको समय खेर जाने गरेको छ । जिल्लामा रेडक्रससहित विभिन्न संघ, संस्थाले नियमित रक्तदानको कार्यक्रम आयोजना गरिरहेको हुन्छ । तर, बिरामी र बिरामीका आफन्तले भने सधैँ सामाजिक संजालमा रगतको खोजी गर्नुपर्ने बाध्यता छ । तसर्थ, रगतको व्यवस्थापनमा देखिएको समस्याको समाधान गर्न सिन्धुली अस्पताल, जिल्लाका स्वास्थ्य संस्था, रेडक्रस लगायत सरोकारवाला निकायबिच समन्वय हुन जरुरी छ ।

नेपाल रेडक्रस सोसाइटिले जिल्लामा रगत अभाव हुन नदिन विभिन्न संघ, संस्थासँग सहकार्य गरि रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । जिल्लामा रगतको अभाव हुन नदिन रेडक्रसको भुमिका सराहनिय छ । रगत संकलन, भण्डारण र वितरणलाई अझै व्यवस्थित बनाउन रेडक्रसले थप गृहकार्य गर्न जरुरी छ । त्यसैगरि, सिन्धुली अस्पतालले पनि रेडक्रसको कमजोरी देखाएर पन्छिने भन्दापनि कसरी सहजै रगत उपलब्ध गराउन सकिन्छ भनेर सहकार्य र समन्वय गर्न जरुरी छ । अतः रगत नपाएर कसैले ज्यान गुमाउनुपर्ने पिडादायि अवस्था आउन नदिन जिल्लाका सरोकारवाला निकाय गम्भिर भएर एक्यबद्ध हुदैँ अघि बढ्न आवश्यक छ ।

प्रतिक्रिया