शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

स्थानिय सरकार गम्भिर बन

आइतवार , फाल्गुण १३, २०८०

नदीजन्य पदार्थका रुपमा लिइने ढुंगा, बालुवा, गिट्टीको निरन्तररुपमा भैरहने चोरीनिकासीको सञ्जाल सिन्धुलीसहित देशव्यापी रुपमा नै छ । अवैध तरिकाले नदिजन्य पदार्थको कारोबार भैरहेकोप्रति बेला–बेलामा खबरदारी गरिएको देखिए पनि त्यसको पुनरावृत्ति हुनेक्रम रोकिएको छैन । सिन्धुलीका खोलाहरुबाट नदीजन्य पदार्थ अवैध ढंगबाट बढ्दो क्रममा चोरीनिकासी भैरहेको पाइएको छ, जसप्रति स्थानीय तहहरु भने मूकदर्शक बनिरहेको प्रतीत हुन्छ । दिनमा भन्दा पनि रातको समयमा त्यस्ता अवैध क्रियाकलापहरु भैरहेका देखिन्छन् ।

एक त नदीजन्य पदार्थको चोरीनिकासीलाई कानुनीरुपमा समेत अवैध मानिएको अवस्थामा स्थानीय तहहरुको आँखैअगाडि देखा परिरहेका त्यस्ता दृश्यहरु खुलेआमरुपमा घटित हुँदा पनि कुनै ठोस कारबाही भएको नदेखिनुले स्थितिलाई शंकास्पदसमेत बनाएको छ । स्थानीय प्रशासनसँग कुनै पनि प्रकारको अनुमतिसमेत नलिईकन व्यवसाय गर्नुले एकातिर राजस्वमा सक्दो क्षति भैरहेको छ भने अर्कोतिर नदी, खोलाहरुको जथाभावी दोहन गर्नाले जोखिम बढेको छ । स्थानीय तहहरुको जिम्मेवारीमा पर्ने त्यस्ता पदार्थहरुको बिक्री तथा व्यवस्थापन पक्षलाई पालिकाहरुले गम्भीरतापूर्वक लिएको देखिँदैन । चोरीनिकासीलाई पूर्णरुपमा नियन्त्रण गर्न स्थानीय तहहरुले प्रहरीसँग समन्वय गर्न अपरिहार्य नै छ । त्यसरी नै निरन्तर अनुगमनका लागि उचित प्रकारको जनशक्तिलाई समेत परिचालन गर्नुपर्ने खाँचो छ । आफ्नो दायित्वप्रति पालिकाहरु गम्भीर बन्नुपर्ने सन्देशसमेत नदीजन्य पदार्थहरुको अवैध ओसारपसारले दिइरहेको हुँदा त्यसको नियन्त्रणप्रति जिम्मेवार बन्नुपर्ने आवश्यकता छ ।

 

प्रतिक्रिया