सिन्धुलीमा सरसफाइमा जसरी नागरिक सचेत हुँदै गएका छन् त्यसैगरी विभिन्न संघसंस्थाहरूले पनि सरसफाइ अभियानलाई प्राथमिकता दिन थालेका छन् । गैरसरकारी संघसंस्थादेखि विद्यालयसम्मले यो अभियानमा सहभागिता जनाउनु सरहानीय कार्य हो । तर, अझै पनि सरसफाईमा उल्लेख्य मात्रामा सहभागिता हुन भने सकेको छैन । मानवजीवनका लागि सरसफाइ अत्यावश्यक छ । तर, सरसफाइमा ध्यान नदिँदा विभिन्न किसिमका रोगको संक्रमण विभिन्न समयमा विभिन्न ठाउँहरूमा फैलिने गरेको छ । सरसफाइ अभियानमा सबैभन्दा बढी राजनीतिक दलहरूको सहभागिता खड्किने गरेको छ । अरुबेला सुन्दर जिल्ला बनाउने भाषण गर्दै हिँड्ने दलहरू व्यवहारमा भने पछि हट्दै आएका छन् । सरसफाइप्रति उनीहरू गम्भीर छैनन् भन्ने प्रमाण यही हो ।
फोहोर व्यवस्थापनको सबैभन्दा ठूलो जिम्मेवारी यहाँका नागरिकहरूको हो । नागरिकहरू आफै सरसफाइमा सचेत हुन सकेको खण्डमा सरसफाइका लागि अनेक अभियानहरू सञ्चालन गरिरहनुपर्ने आवश्यकता नै रहँदैन । तर, जनचेतनाको अभावका साथै अटेरिपनका कारण सिन्धुली प्रदूषित छ । यसले समग्र जिल्लाको पहिचानमा समेत प्रभाव पार्दछ । त्यसैले यहाँका स्थानीय नागरिकहरूलाई सजग र सचेत बनाउँदै सरोकारवाला सबैले यो अभियानमा हातेमालो गर्नु तत्कालको आवश्यकता हो ।