सत्य, त्रेता र द्वापर युगमा आफुभन्दा ठूलालाई साष्टांग रुपमा आदर गर्ने, आमाबुवालाई भगवानको रुपमा हेर्ने र त्यही अनुसार बुवाआमाको पुजा गर्ने लगायतका कार्यहरु हुने गर्दथे भन्ने किवंदन्ती छन् । तर, अहिले बुबाले छोरीको बलात्कार गरेको, छोराले बुबाको हत्या गरेको लगायत पत्याउनै नसक्ने घट्नाहरु सार्वजनिक भईरहेको छ । गरिबी, अशिक्षा, रुढीवादि परम्परा लगायत समाजमा देखिएका विविध पक्षका कारण समाजिक सद्भाव भड्किने घट्नाहरु हुने गरेको छ । विद्यालय जिवनमा नैतिक शिक्षाको पाठ पढाउने शिक्षकको विद्यार्थीले हत्या गरेको कुरा, बुवाले छोरालाई तथा छोराले बुवालाई मारेको कुरा, दाजुभाई बिचको झगडामा परिवारको सदस्य गुमाएको कुरा, यस्ता अनेकौँ घटनाका कुराहरु अहिले सामाजिक सञ्चालमा छ्याप्छ्याप्ती आईरहेका हुन्छन् । पछिल्लो समय यस्ता घटनाहरुमा ह्वात्तै वृद्धि हुनुले मानविय जिवन संकटमा रहेको कुरा प्रस्ट्याईरहेको छ । युवाहरु नैतिक रुपले कति तल झरिसकेको छ भन्ने कुराको तथ्यांक त्यस्ता घटनाहरुले देखाउँछ । सामाजिक सञ्जालमा आफूभन्दा ठूलालाई सम्मान र सानालाई माया गरेपनि व्यवहारीक जिवनमा कार्यान्वयन नगरेको देख्न सकिन्छ ।
देशको खम्बाका रुपमा रहेको युवाले नैतिकता बिर्सने हो भने त्यसले भयावह रुप लिई देशलाई अधोगतीको बाटो तर्फ डोर्याउन सक्दछ । त्यसैले युवाले आफुलाई नैतिक रुपमा सबल र सक्षम बनाएर देशको एक जिम्मेवार नागरिक बन्न सक्नुपर्दछ । त्यसैगरि, समाजिक शान्ति, सद्भाव भड्काउने कुनैपनि घट्ना दोहोरिन नदिन दोषिलाई कडा भन्दा कडा कार्वाही गर्न जरुरी छ ।