शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

उपकरणलाई प्रयोगमा ल्याऊ

सोमवार , फाल्गुण ७, २०८०

सिन्धुली जिल्लामा रहेका स्वास्थ्य संस्थाहरुमा ठूलो अनुपातमा महत्वपूर्ण स्वास्थ्य उपकरणहरु बेवारिसे अवस्थामा रहेको छ । सिन्धुलीमा मात्रै नभएर देशैभरि महत्वपुर्ण उपकरणहरु प्रयोगविहिन अवस्थामा छन् । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको आपूर्ति शाखाले उपलब्ध गराएको – तथ्यांकलाई अध्ययन गर्ने हो भने देशभर विद्यमान रहेका स्वास्थ्य संस्थाहरुमा २० किसिमका २ सय ३३ उपकरणहरु हाल बेवारिसे अवस्थामा रहेका छन् । श्वासप्रश्वासका लागि अतिआवश्यक पर्ने भेन्टिलेटरजस्तो महत्वपूर्ण उपकरण ९१ वटा उपकरण त्यत्तिकै अलपत्र अवस्थामा छ भने त्यही उपकरणका लागि प्रयोग गरिने बिप्याप मेसिनसमेत १९ वटा काम लिन नसकिने अवस्थामा रहेको देखिन्छ ।

स्वास्थ्य क्षेत्रमा आवश्यक जनशक्तिहरुको अभाव रहेको कुरा नौलो होइन, कयौँ उपकरण ठाउँ अभावकै कारण अलपत्र अवस्थामा समेत रहनु अस्वाभाविक पनि छैन । अझ कयौँ त्यस्ता मेसिनहरु त काम चलुन्जेल काम चलाउने र बिग्रिएपछि उपयोगमा ल्याउनै छोड्ने प्रवृत्तिको पनि नराम्रोसँग विकास हुँदै गएको परिप्रेक्ष्यमा भैरहेका सामानलाई पुनः उपयोगमा ल्याउने सोचको विकास हुन आवश्यक छ । महँगो स्वास्थ्य उपकरणहरु बारम्बार खरिद गर्न नेपालजस्तो देशका लागि असम्भवजस्तै छ, तिनको उचित उपचार भनेको मर्मतसम्हार गरेर चुस्तदुरूस्त अवस्थामा ल्याउनु नै हो । मेसिनको काम भनेकै त्यसले दिन सक्ने अवस्थासम्म काम लिनु नै हो । स्वास्थ्य क्षेत्रमा जति सुविधा थपियो त्यति नै स्वास्थ्यसेवासमेत भरपर्दो हुने र त्यसको प्रतिफल बिरामीले समेत तुरून्तै पाउने हुनाले हाल बिग्रिएर रहेका मेसिनहरुलाई चुस्तदुरूस्तरुपमा राख्न अति जरूरी देखिएको छ । परिणाम सकारात्मक प्राप्त हुन्छ भने सरोकारवालाको गम्भीर ध्यान त्यस पक्षमा जानैपर्छ ।

प्रतिक्रिया