नागरिकताको प्रमाणपत्रले व्यक्तिको राज्यसँगको सम्बन्ध निर्धारण गर्नुका साथै राज्यबाट प्राप्त हुने राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी हक, अधिकार र दायित्वको निर्धारण गर्ने वैधानिक – निस्सा हो । नागरिकता एक महत्वपुर्ण कागजात हो । तर, लापर्वाहीका कारण नागकिरता हराउनेको संख्या बढेको छ । नागरिकता हरायो भन्नेहरूमा बुढापाका भन्दा पनि युवाहरू बढी देखिएका छन् । यात्रा गर्दा हराएको, पर्ससँगै हराएको, च्यातिएको भन्दै प्रतिलिपि नागरिकता लिन आउने युवाहरूको लर्को हुने गर्दछ । तसर्थ, नागरिकताको सुरक्षाकालागि नागिरक गम्भिर हुनुपर्दछ । हराएको नागरिकता दुरुपयोग हुने संभावना भएको हुँदा प्रतिलिपि पाईन्छ भनेर जतिपनि प्रतिलिपि नागरिकता लिनेभन्दापनि नागरिकता सुरक्षीत राख्नतर्फ विशेष ध्यान दिन आवश्यक छ ।
जिल्ला प्रशासन कार्यालयबाट नागरिकता प्राप्त गरिसकेपछि नागरिकतामा प्लास्टिकको कभर राख्ने गरे पानीबाट वा च्यातिनबाट जोगाउन सकिन्छ । नागरिकताको फोटोकपी एकै पटकमा धेरै गरेमा धेरै ठाँउ फोटोकपीले काम चल्छ । तसर्थ सक्कल नागिरकता बोकिरहनुपर्दैन र बोक्दा हराउने संभावना कम हुन्छ । फोटोकपी भए पुग्ने प्रयोजनका लागि सक्कली नागरिकता नबोक्ने र नागरिकता सधैँ पर्समा नबोक्ने गर्दा थप सुरक्षित हुन्छ । बच्चाबच्चीले भेट्ने ठाउँमा नागरिकतालगायत महत्त्वपूर्ण डकुमेन्ट नराख्नु राम्रो हो । नागरिकतालाई स्क्यान गरेर कम्प्युटर, ईमेलमा राख्ने बानी बसाल्यौँ भने सुरक्षित रहन्छ । अतः राज्यसँग नागरिकको कानुनी सम्बन्ध स्थापित गरी अधिकारको रक्षा गर्ने दस्ताबेज नागरिकता भएकाले नागरिकताको सुरक्षामा सबै सचेत हुन जरुरी छ ।