सिन्धुलीमा वर्षेनि कम उमेरमै बच्चा जन्माउने किशोरिको संख्या बढ्दै छ । गरिबी, अशिक्षा र चेतनाको कमिका कारण जिल्लामा कलिलो उमेर गर्भवती बन्नेको संख्या बढिरहेको हो । सामान्यतया २० – वर्षसम्म महिलाको शरीर नै पूर्ण विकसित भइसकेको हुँदैन । त्यसैले २० वर्ष पूरा भएपछि मात्र बच्चा जन्माउनु राम्रो हो । तर, विविध कारणहरुले गर्दा कम उमेरमै विवाह गरेर बच्चा जन्माउनेक्रम रोकिएको छैन । कलिलो उमेरमा बच्चा जन्माउँदा आमा र बच्चा दुवैलाई खतरा हुन्छ । सानै उमेरमा विवाह हुने र त्यसपछि लगत्तै बच्चा जन्माउन चाहनेहरूको संख्या धेरै छ । धेरै चाहिँ विवाह गर्नसाथ विदेश जान र आउँदा बच्चाबच्ची हुर्की सकुन् भन्ने सोचका कारण पनि कलिलो उमेरमा गर्भवती बन्नको संख्या बढेको हो । जनचेतनाको पाटोलाई बलियो बनाउन सकेमात्र यस्ता कुरा नियन्त्रण हुनेछ । तसर्थ, जिल्लाका स्थानिय सरकार, स्वास्थ्य कार्यालय लगायत सरोकारवाला निकायले गाउँगाउँमा पुगेर व्यापक चेतना वृद्धिका कार्यक्रम संचालन गर्न जरुरी छ । त्यसैगरि, नागरिकको जिविकोपार्जनकालागि बृहत प्रभावकारी कार्यत्रमको आयोजना हुन जरुरी छ ।
तथ्यांक हेर्दा उमेरै नपुगी बच्चा जन्माउनेको संख्या धेरै देखिन्छ तर यसमा गरिब र अशिक्षाको पाटो धेरै छ । जोखिम भएर पनि सम्बन्धित पक्षले नबुझेपछि सुरक्षित प्रसूतिभन्दा अरू बाटो रहँदैन । तसर्थ, सिन्धुलीमा किशोरीहरुको पठनपाठन, चेतनास्तर लगायत समग्र विकासमा सम्बन्धित निकायको चासो देखिन आवश्यक छ ।