सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाको अध्यक्ष बज्रध्वज वाईबाले एक सुकुम्वासीलाई हातपात गर्दै धाकधम्की दिएको घट्ना सतहमा आएको छ । पिडितले अध्यक्ष वाईवाबाट आफू र छोरीलाई ज्यान मार्ने धम्की आएपछि नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटिसँग आश्रय खोज्दै निवेदन दिएका थिए । वैदेशिक रोजगारीमा गएको बेला श्रीमती हराएपछि खोज्दै जानेक्रममा श्रीमती घरमा फर्किएको र श्रीमती फर्किएपछि अध्यक्ष वाईवाले आफूलाई आरोप लगाएको भन्दै कुटपिट गरेको पिडितले उजुरीमा लेखेका छन् । उक्त घट्ना सतहमा आएको धेरै दिन भइसकेको छ । तर, अध्यक्ष वाईबा र उनी निर्वाचित भएको पार्टीले कुनैपनि स्पष्टिकरण दिएको छैन । सार्वजनिक पदमा बसेको व्यक्तिलाई कानुन विपरित कार्य गरेको आरोप लागिरहदा पार्टी नेतृत्व र स्वयं अध्यक्ष मौन बस्नु लज्जास्पद हो ।
त्यस्तै, एउटा पिडित भनिएको व्यक्तिले जिवन संरक्षण र ज्यान जोगाइदिन आग्रह गरेको निवेदनको आधारमा समाचार लेख्दा पत्रकारमाथिनै जाई लाग्न खोज्नु समग्र पत्रकारमाथिको आक्रमण हो । सिन्धुली सौगात पत्रिकाले यसअघि उक्त घट्नाको विषयमा लेखेको समाचारमा पिडितको नाम कतै उल्लेख गरेको छैन । तर, सिन्धुली सौगात अनलाईन र पत्रिकाबाट धेरैले उक्त घट्नाको जानकारी पाएको भन्दैमा संचारगृहप्रति पुर्वाग्रही भएर अघि बढ्नु राजनैतिक आस्थाविरुद्धको कदम हो । अतः समाचार लेखेकै भरमा एउटा संचारगृहले कहिलेसम्म धाकधम्की र असुरक्षा महशुस गर्नुपर्ने हो, नेपाल पत्रकार महासंघले स्पष्ट बताउन जरुरी छ ।