देशमा राजतन्त्र हटेपनि राजाको जीवन बाँच्नेहरुको कमि छैन हाम्रो समाजमा । मुख्यतः राजनीतिक दलका नेता, पहुँचवाला र धनिहरुको शासन समाजमा गडेर बसेको छ । निमुखा र गरिब जनतालाई अघि बढ्न नदिने, सधै दमन गर्ने र आफ्नो शक्तिसन्तुलन बलियो बनाउने राजनीतिक– सोचका कारण सिन्धुली लगायत देशभर निरंकुशता र अराजकता फैलिएको छ । त्यसैको एउटा ज्वलन्त उदाहरण हो, सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका अध्यक्षको पछिल्लो घट्ना । वैदेशिक रोजगारीमा गएका सोझा स्थानियलाई निर्घात कुटपिट गर्ने, धाकधम्की दिने, आतंक फैलाउने र परिवार विखण्ड गर्न खोजेको आरोप स्थानिय सरकारको प्रमुख बज्रध्वज वाईबालाई लागेको छ । पिडित पक्षले त्रासकैबिच मिडियामा आएर वाईबाले आफूहरुलाई मार्नेधम्की दिने लगायत मानसिक यातना दिएको बताइरहदा जिल्लाका सरोकारवाला निकाय भने मौन देखिन्छन् । उक्त घट्नामा कति सत्यता छ त्यो आगामी दिनमा स्पष्ट होला । तर, स्वदेशमा रोजगारी नपाएर विदेशिएका युवाको श्रीमतीका विषयमा अध्यक्ष मुछिनु, पीडित पक्षले ज्यानको जोखिम रहेको भन्दै मिडियामा आउनु र राजनैतिक दल, नागरिक समाज, विद्यार्थी संगठन लगायत सरोकारवाला निकाय चुपचाप बस्नुले यो समाजलाई अन्धो बनाएको छ ।
हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कुनै एक दलबाट निर्वाचित नभएका जनप्रतिनिधि हुन् । उनलाई टिकट दिने पार्टी नेतृत्व समेत मौन बसेको अवस्था छ । संसद र मिडियामा चर्को आवाज उठाउने जिल्लाका नेतृत्वले जिल्लामै देखिएको अराजक घट्नालाई नजरअन्दाज गर्दा हात्तीको दाँत जस्तै भएको छ । तसर्थ, समाजमा हुने अराजक गतिविधिविरुद्ध आवाज उठाउन सरोकारवाला निकाय सधैँ अग्रसर हुनुपर्छ । सत्यतथ्य छानविन गर्न जिम्मेवार निकाय पन्छिनुहुदैँन र दोषिलाई कार्वाही हुनुपर्छ ।