राज्यको लगानीमा निर्माण भएका संरचना समयमै सम्पन्न नहुँदा ठेकेदारलाई कुटपिट गर्ने, कालोमोसो दल्ने लगायत रुखमा फोटो झुण्डाउने काम भइरहेको छ । राज्यले ती ठेकेदारलाई आवश्यक कार्वाही गर्न कञ्जुस्याईँ गर्दा नागरिकले कानुननै हातमा लिएको अवस्था छ । तर, सर्वसाधरणले सभ्य – शैलि अपनाएर खबरदारी गर्न आवश्यक छ । काम नगर्ने ठेकेदारप्रति रुष्ट र आक्रोशित बन्ने सर्वसाधारणले ठाउँठाउँमा भौतिक कारबाही गरेका विभिन्न सञ्चारमाध्यममा सुन्ने गरिएको छ । खबरदारीको नामाम कानुननै हातमा लिएर अराजक हर्कत देखाउनु गलत हो । तसर्थ, भौतिक कारबाही नभई नैतिक रुपमा हायलकायल पार्ने जुक्ति अपनाउन नागरिक सचेत हुन आवश्यक छ ।
आयोजनाहरु अलपत्र पार्ने निर्माण व्यवसायीहरुलाई जिल्ला प्रशासन कार्यालयमा उभ्याएर काम नगर्नुको कारण माग्ने, ढिला गरेकामा माफी मगाउने र यथासीघ्र काम गर्ने प्रतिवद्धता माग्न जरुरी छ । यो शैली सभ्य हो । भौतिक कारबाही गर्नु कानूनतः वाञ्छित हुदैन । कमजोरीका कारण निर्माण व्यवसायीले कानूनी उपचार नखोजेर मात्र, नत्र भौतिक कारबाहीविरुद्ध निर्माण व्यवसायी उभिए भने आक्रमणकारी कमजोर हुन्छन् । त्यसको विपरीत काम नगरे बापत नैतिक रुपमा हायलकायल पार्ने यो शैली उचित छ ।
काम पनि नगर्ने, अलिअलि काम गरेका मजदुर, मिस्त्री, कुल्लीहरुलाई पारिश्रमिक पनि नदिने, कामदारले खाना, खाजा खाएको ठाउँका सप्लायर्स(पसले)लाई पनि भुक्तानी नदिने, गिटी, बालुवा जस्ता निर्माण सामग्री खरिद गरेको ठाउँमा पनि भुक्तानी नदिने जस्ता निकृष्ट काम गर्ने ठेकेदारहरु छन् । भुक्तानी नपाएर कामदारहरु कोठाभाडा तिर्न नसकेर, रासन किनेको पसललाई भुक्तानी दिन नसक्दा कोठाभित्रबाट बाहिर निस्कन नसक्ने अबस्थामा पुगेका हुन्छन्, तर ठेकेदार न काम सम्पन्न गर्छन्, न कामदारलाई भुक्तानी दिन सक्छन् । यस्ता ठेकेदारलाई जिल्ला प्रशासन सामु उभ्याएर माफी मगाउनु, कामप्रति प्रतिवद्धता माग गर्नु निकै उचित काम हो । बरु अझै पनि काम नगरे फेरि पनि यसरी नै सिडियो कार्यालयमा उभ्याउन ल्याउन सक्नुपर्छ ।