शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीवासिलाई तर्साउने मोटरसाइकललाई कार्वाही गर

बुधवार , माघ १७, २०८०

बिहानको समय कुखुरा बाँस्दा समेत निन्द हराम हुने गर्दछ । अझै मानविय यन्त्रले चर्को आवाज निकालेपछि त झन निन्द हरामसँगै रक्तचाप बढ्ने गरेको सिन्धुलीको सदरमुकाममा रहेका नागरिकले गुनासो गरेका छन् । जिल्लाको व्यस्त व्यापारिक केन्द्र कमलामाई नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडामा मोटरसाइकल आतंकबाट स्थानिय त्रसित भएको अवस्था छ । ध्वनि प्रदर्शनसँगै तिव्र गतिका कारण पैदलयात्री डराईडराई हिँड्नुपरिरहेको छ । पछिल्लो समय जिल्लामा ठूलो आवाज निकाल्ने मोटरसाइकलको संख्या बढिरहेको स्थानियले गुनासो गरेका छन् । केहि बाईकको आवाज बन्दुकको गोली पड्कीदा आउने आवाज जस्तै सुनिन्छ । ध्वनि प्रदर्शन रोकथाम गर्न ‘हर्न निषेध’ गर्ने नियमनकारी निकायले जिल्लाको सदरमुकाममै निर्वाध रुपमा गुड्ने चर्को आवाजका मोटरसाइकललाई नियन्त्रणमा लिन नसक्नु दुखद पक्ष हो । तसर्थ, वास्तविक आवाजलाई परिमार्जित गरि ठूलो आवाज निकाल्ने मोटरसाइकललाई निगरानिमा राखेर कार्वाहीको दायरामा ल्याउन जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।

सदरमुकाम सिन्धुलीमाढीकै भित्रि सडकहरुमा मोटरसाइकल र अन्य सवारीसाधनको आतंक मच्चिएको छ । तिव्र गति र ध्वनि प्रदर्शनले त्राससँगै स्थानियको स्वास्थ्यमा समेत समस्या देखिएको छ । स्थानिय सरकार र सडक कार्यालयले न्युनतम सडक सुरक्षाको समेत ख्याल नगर्दो वर्षेनि बालबालिका र पैदलयात्रीले ज्यान गुमाईरहेको अवस्था छ । जोखिमयुक्त स्थानमा ‘कन्केभ ऐना’ राख्न नागरिकले बारम्बार ताकेता गर्दा समेत जिम्मेवार निकाय पन्छिने गरेका छन् । सडक सबैको साझा हो । तसर्थ, पैदलयात्रीलाई सुरक्षित हिँड्न मिल्ने गरि सडक सुरक्षाप्रति ख्याल गर्न जिम्मेवार निकाय गम्भिर हुनुपर्दछ । अतः ध्वनि प्रदर्शनसँगै वातावरण प्रदुषण गर्ने र तिव्र गतिमा गुड्ने मोटरसाइकल सहित अन्य सवारीसाधनलाई नियन्त्रणमा लिन सम्बन्धित निकायले बेलैमा चासो देखाउनुपर्दछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया