शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

जनश्रमको नाममा अनियमितता नगर

आइतवार , पौष २९, २०८०

सिन्धुलीमा जनश्रम र रोजगारको नाममा चरम घोटाला हुने गरेको पाईएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि उपभोक्ता समितिमार्फत संचालन भएका योजनामा जनश्रमको नाममा आर्थिक अनियमितता हुने गरेको छ । जिल्लामा रहेका नौँवटा स्थानिय तहमा वर्षेनि प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत करोडौँ खर्च भइरहेको छ । रोजगारको नाममा जनप्रतिनिधि र कर्मचारीले नक्कली श्रमिक खडा गरेर आर्थिक हिनामिना गरेको आरोप लाग्दै आएको छ ।

नक्कली श्रमिकको नाममा राज्यको लगानी दुरुपयोग भइरहदा सरोकारवाला मौन बस्नु भनेको ‘कानुन अन्धो र समाज बहिरो’ हुनु हो । जिल्लाका सरोकारवाला निकाय चुपचाप बस्दा स्थानिय तहले समेत काम र श्रमिकको विवरण सार्वजनिक नगरेको अवस्था छ । तसर्थ, प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत संचालन भएका योजना र श्रमिकको विवरण सार्वजनिक गर्न सम्बन्धित निकायले कञ्जुस्यार्इँ वा त्रसित हुनुहुदैँन ।

त्यसैगरि, उपभोक्ता समितिमार्फत संचालन भएका योजनामा आर्थिक अनियमितता हुने गरेको स्थानियले बताएका छन् । जनश्रमको नाममा उपभोक्ता समितिले नक्कली श्रमिक खडा गरेर खर्च देखाउने गरेका छन् । वास्तविक कामदारको संख्या बढाएर उपभोक्ता समितिले बढि भुक्तानि लिनेमात्र नभएर मेसिनको प्रयोग गर्दै बढि खर्च देखाउने गरेको स्थानियले बताएका छन् । नागरिकलाई रोजगार दिने भन्दै सिमित व्यक्तिले राज्यको ढुकुटि रित्याइरहेका छन् । तसर्थ, श्रमदानको नाममा हुने आर्थिक अनियमितता, घोटाला र कुशासनलाई निरुत्साहित पार्न नागरिक समाज, विद्यार्थी लगायत सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । अतः नागरिकको श्रम कसैकालागि कमिशन बन्न नदिन सम्बन्धित निकायले पारदर्शिता कायम गर्नुपर्दछ ।

 

प्रतिक्रिया