सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित मधुटारमा शनिबार ट्याक्टरले किचेर एक बालिकाको मृत्यु भयो । जिल्लाको सदरमुकामस्थित बजार क्षेत्रको विकल्पका रुपमा रहेको मधुटार टोल आवासिय गन्तव्य बनिरहेको छ । जनसंख्यासँगै विकास निर्माणको कामले पनि यहाँ तिव्रता पाएको छ । तर, पुर्वाधार निर्माणसँगै चुनौतिहरु थपिएका छन् । सडक र पुल निर्माण भएपछि सवारीसाधनको चाप बढेको छ । जिल्लाको कमलामाई नगरपालिका वडा नम्बर ६ र ५ लाई जोड्ने पक्की पुल निर्माण भएपछि साइनिङ मुन विद्यालय क्षेत्र, कालिमाई मन्दिर क्षेत्र, प्लटिङ जाने सडकखण्डमा ठूलादेखि साना गाडीको लर्को लाग्ने गरेको छ । तर, अव्यवस्थित पार्किङ, तिव्र गति, कन्केभ ऐना लगायत आवश्यक पुर्वाधारको अभावका कारण दुर्घटनाको जोखिम बढिरहेको छ । ट्रयाक्टरले किचेर बालिकाको मृत्यु त एउटा प्रतिनिधि घट्नामात्र हो । यहाँ दैनिक दुर्घटना हुने गरेको छ । मोटरसाइकल, ट्याक्टर लगायत सबैजसो सवारीसाधनको तिव्र गतिका कारण सडक आसपासका क्षेत्रमा बस्ने स्थानिय आतंकित भएका छन् । यतिसम्मकि, सडक आसपासका क्षेत्रमा कोठा भाडानै लाग्नै मुश्किल हुने स्थानियको गुनासो छ ।
सर्वप्रथम त, वडा नम्बर ६ र ५ जोड्ने पक्कली पुल अगाडी तीनवटा सडक जोडिएको हुँदा कन्केभ ऐनाको आवश्यकता छ । त्यस्तै, रोजगारी दिनैकालागि राखिएका नगरप्रहरीले मान्छेको चहलपहल हुने ठाउँमा गस्ति बढाउन जरुरी छ । जिल्लाको सबैभन्दा भिडभाड र मान्छेको चहलपहल हुने वडा नम्बर ६ सँगै जोडिएको मधुटार क्षेत्रमा गाडीको आतंकनै छ । तसर्थ, मधुटारमा मात्र नभई भिडभाड हुने क्षेत्रमा पार्किङदेखि फुटपाथको व्यवस्था गर्न स्थानिय सरकारले पहल गर्नुपर्दछ । अतः सडक सुरक्षाको सवालमा जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।