शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

पानीको शुद्धता मापन गर

शनिवार , मंसिर ९, २०८०

सिन्धुलीमा पानीको उद्योगप्रति व्यवसायीहरु आकर्षित भएका छन् । जिल्लामा संचालित पानी उद्योगले सिन्धुलीसँगै छिमेकि जिल्लाको बजारमा समेत राज गरिरहेको छ । तर, पानी उद्योगको निगरानि गर्न नियमनकारी निकायले चासो नदेखाएको उपभोक्ताले गुनासो गर्दै आएका छन् । जिल्लाकै पानी उद्योगबाट किरा मिसिएको पानी फेला पारेको उपभोक्ताले बताउदैँ आएका छन् । तर, खाद्य तथा गुणस्तर नियन्त्रण कार्यालय, जिल्ला प्रशासन लगायत सरोकारवाला निकायले पानी उद्योगको अनुगमन गर्न कञ्जुस्याईँ गरेको अवस्था छ । सामाजिक संजालमा दुषित पानीको फोटो छ्याप्छ्याप्ती सार्वजनिक हुँदा समेत जिम्मेवार निकायको ध्यान जान नसक्दा उपभोक्ता चिन्तित भएका छन् । दुषित पानीले रोगसँगै मृत्युपनि निम्ताउने गर्दछ । तर, जिल्लाका नियमनकारी निकायले पानी उद्योगको अनुगमन र निगरानिमा वेवास्था गरेका छन् ।

निजि पानी उद्योगमात्र नभएर शिद्धेश्वर खानेपानी उपभोक्ता समितिले वितरण गर्ने पानीपनि शुद्ध नभएको गुनासो आइरहेको छ । धारामा फोहोर मिसिएको पानी आउने तथा पानी ट्यांकीसमेत दुषित भएको उपभोक्ताले आलोचना गरेका छन् । तसर्थ, जिल्लामा रहेका निजि तथा सार्वजनिक खानेपानी संस्थामा अनुगमन गर्नतर्फ सम्बन्धित निकायले चासो देखाउन जरुरी छ । त्यसैगरि, पानीको शुद्धता मापन गर्न नियमनकारी निकायले कञ्जुस्याईँ गर्नुहुदँैन । अतः सिन्धुलीवासिको स्वास्थ्य प्रति राज्यको संयन्त्र गम्भिर हुन आवश्यक छ ।

प्रतिक्रिया