सिन्धुली अस्पतालले दिदैँ आएको सेवा, सुविधाप्रति नागरिक सन्तुष्ट छैनन् । जिल्ला अस्पताल सिन्धुली एउटा यस्तो सार्वजनिक संस्था हो जहाँको आलोचना सधैँ हुनेगर्दछ । तर, सिन्धुली अस्पतालमा देखिएको समस्याप्रति सरोकारवाला निकायले चासो नदेखाएको अवस्था छ । आलोचनाकालागि सधैँ अघि देखिने सरोकारवाला निकायले अस्पतालको समस्या समाधान गर्न पहल नगरेको केहि घट्नाले देखाउँछ । महिनौँदेखि सिन्धुली अस्पताल उधारोमा चलिरहदा व्यवस्थापन समितिलाई औषधिदेखि चिकित्सक भर्ति गर्न हम्मेहम्मे परेको अवस्था छ । स्वास्थ्य बीमा बोर्डले उपचारबापत झण्डै दुई करोड बढि रकम उपलब्ध नगराएपछि जिल्ला अस्पताल सिन्धुली उधारोमा चल्नुको विकल्प नरहेको देखिन्छ । अस्पतालको ढुकुटीनै रित्तिएपछि सेवाग्राहीलाई सेवा, सुविधा दिन कठिनाई भएको सजिलै बुझ्न सकिन्छ । बिमावापत निशुल्क पाईने औषधि बिरामीले नपाउँदा अस्पतालप्रति सेवाग्राहीको चरम आक्रोश देखिने गर्दछ । तर, जिल्ला अस्पताल सिन्धुलीले उधारोमा बिमित बिरामीलाइ दिएको सेवा, सुविधाको भुक्तानी स्वास्थ्य बिमा बोर्डले नगर्दा औषधिको जोहो गर्न अस्पताल व्यवस्थापन समितिलाई व्यापक कठिनाई भएको हो । तसर्थ, सिन्धुली अस्पतालको अन्य आन्तरिक आम्दानी नभएकोले स्थानिय देखि तीनै तहको सरकारका प्रतिनिधिले आर्थिक जोहो गर्न पहल गर्नुपर्ने आवश्यकता छ ।
स्वास्थ्य बिमा बोर्डले सिन्धुलीमा मात्र नभएर अधिकांश जिल्लामा बिमाको पैसा अस्पताललाई पठाएको छैन । स्वास्थ्य बिमा बोर्डले जिल्ला अस्पताल सिन्धुलीलाई बाँकी वक्यौता भुक्तानी गर्न अझैँ थुप्रै समय लाग्ने देखिन्छ । तसर्थ, बिमावापत सेवाग्राहीले पाउनुपर्ने निशुल्क औषधि आयात गर्न स्थानिय सरकारले विकल्प खोज्न आवश्यक छ । प्रदेश र केन्द्र सरकार असफल भएपनि नागरिकको नजिकको स्थानिय सरकारले जिल्ला अस्पतालमा देखिएको समस्यालाई समाधान गर्नतर्फ विशेष चासो देखाउन आवश्यक छ । अन्यथा, आगामी दिनमा आपूर्तिकर्ताले औषधि उपलब्ध नगराउने र जिल्लामा औषधिको हाहाकार हुने निश्चित छ ।