सिन्धुलीका अधिकांश स्थानिय तहले आफ्नो वेभसाइट अपडेट गर्दैनन् । नेपाल सरकारले नागरिकलाई सूसुचित गराउन र कार्यालयबाट प्रवाह हुने सेवा, सुविधा, आम्दानि, खर्च लगायतका विवरण राख्न स्थानिय तहलाई दिईएको वेभसाइट प्रयोगविहिन भएको छ । स्थानिय तहले सूचना प्रविधि अधिकृत नियुक्ति गरेपनि नागरिकले प्रविधिको प्रयोगबाट सूचना लिन सकिरहेका छैनन् । काठमाडौँ महानगरपालिकाको मेयर बालेन शाहले कार्यपालिकाको बैठकनै लाईभ गर्न थालेपछि जिल्लाका केहि स्थानिय तहले नागरिकसम्म सूचना प्रवाह होस् भनेर सोहि निर्णय कार्यान्वयन गर्ने मौखिक उद्घोष गरेपनि कार्यान्वयन हुन सकेन । यतिसम्मकि केहि स्थानिय तहले नागरिकले सो कार्यालयबाट प्राप्त गर्नेे सेवा, सुविधाकालागि भर्नुपर्ने कागजातको ढाँचा समेत वेभसाइटमा पाउन सकेका छैनन् । नेपाल सरकारले दिएको वेभसाइटलाई प्रयोगविहिन बनाएर अनौपचारिक माध्यमबाट केहि स्थानिय तहले सन्देश प्रवाह गरिरहेको अवस्था छ ।
नागरिकको करबाट संचालनमा रहेका हरेक कार्यालय नागरिकप्रति जवाफदेहि बन्नुपर्छ । आर्थिक पारदर्शिता कायम गर्दै नागरिकलाई एक रुपैँयाको समेत विवरण दिन सार्वजनिक संघ, संस्था तयार हुनुपर्नेमा वर्षौँदेखिको आय/व्यय समेत वेभसाइटमा अद्यावधिक नहुनु भनेको पारदर्शि बन्न डराउनु हो । तसर्थ, जिल्लाका सरोकारवाला निकायले सार्वजनिक संघ, संस्थालाई पारदर्शि बनाउन उपयुक्त माध्यमको प्रयोग गर्न दबाब दिन जरुरी छ । अतः सार्वजनिक संघ, संस्थाप्रति नागरिकको चासो बढाउन पनि सम्बन्धित निकायले उपलब्ध माध्यमको प्रयोगकालागि पहल गर्न आवश्यक छ ।