सिन्धुलीका केहि स्थानिय तहले आन्तरिक आम्दानिका श्रोतलाई कौडीको भाउमा ठेकेदार कम्पनिलाई सुम्पेका छन् । सार्वजनिक खरिद ऐनमै टेकेर विधिवत रुपमा ठेक्का खुलाएपनि ठेक्का सम्झौताका मूल्य कम गर्ने, मापदण्ड घटाउने लगायत स्थानिय सरकारलाई घाटा पुग्ने गरि ठेक्का सम्झौता भएका छन् । स्थानिय तह मातहत निर्माण भएका पार्क, पोखरी लगायत विविध संरचनालाई कौडीको भाउमा निश्चित व्यक्ति र समूहलाई सुम्पिदा स्थानिय सरकारको आन्तरिक आम्दानि घट्दै गएको छ । यतिसम्म कि फुटपाथमा व्यापार गर्नेहरुसँग भोटको लोभमा राजश्वनै नउठाउनेसम्मको कार्य भइरहेको छ । जिल्लाका स्थानिय तहको आन्तरिक श्रोत निकै कम छ । तर, ‘आम्दानि अठानि खर्च रुपैँया’ भनेझैँ महंगो लागतमा संरचना निर्माण गर्ने र सस्तोमा ठेक्का सुम्पिने प्रबृद्धिले स्थानिय तह संघ र प्रदेशकै बजेटमा परनिर्भर हुनुपरेको अवस्था छ । तसर्थ, जिल्लाका स्थानिय तहले आन्तरिक आम्दानि संकलनमा विशेष चासो देखाउन जरुरी छ । त्यस्तै, सरोकारवाला निकायले पनि स्थानिय सरकारको क्रियाकलापलाई निगरानि गरि खबरदारि गर्नतर्फ कञ्जुस्याईँ गर्नुहुदैँन ।
जिल्लामा संघ र प्रदेश सरकारबाट करोडौँ लागतमा निर्माण भएका संरचनालाई स्थानिय तहले सस्तो भाडा दर कायम गरेर ठेक्का सम्झौता गरेको छ । चुनावको समयमा नोट र भोट बैंकको भुमिका खेल्ने व्यापारी तथा व्यवसायीलाई राज्यको सम्पत्ति कौडीको भाउमा सुम्पिनु आर्थिक अनियमितताको पराकाष्ठ हो । तसर्थ, आन्तरिक आम्दानिलाई बलियो बनाउनतर्फ थप योजना निर्माणसँगै भएका श्रोतको उचित व्यवस्थापन गर्नतर्फ स्थानिय सरकर गम्भिर हुन आवश्यक छ ।