शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

खतरनाक राजमार्गमा सुरक्षा व्यवस्था शुन्य

मंगलवार , कार्तिक १४, २०८०

देशको संघीय राजधानी काठमाडौँलाई पुर्वि जिल्लासँग जोड्ने विपी राजमार्गमा दैनिक औसत एक हजार बढि सवारीसाधन आवतजावत गर्छन् । चाडबाडको समयमा उक्त राजमार्गमा ट्राफिक जामनै हुने गरि सवारी साधनको चाप हुने गर्दछ । नागबेलि सडकखण्डमा यात्रा गर्न कठिनमात्रै नभई जोखिमपुर्णपनि छ । विपी राजमार्गमा दैनिक साना तथा ठूला दुर्घटना हुने गर्दछ । तिव्रगति, ओभरटेक, गलत लेनको प्रयोग लगायत मानविय तथा यान्त्रिक त्रुटिका कारण दुर्घटना बढ्दै गएको छ । विपी राजमार्गमा दुर्घटनाको जोखिम बढिरहदा सुरक्षा व्यवस्था भने शुन्य रहेको छ । मोटरसाइकललाई समेत १० दिनकालागि मात्र टाईम कार्ड लागु गरेर सरोकारवाला निकायले भद्वा मजाक गरेका छन् । राजमार्गका चेकपोष्टमा केहि होेटल व्यवसायी ढुकेरै बस्ने गर्दछन् । ट्राफिक चेकपोष्टमा समय मिलाईदिने देखि भत्ताको प्रलोभन देखाएर चालक आकर्षित गर्ने केहि होटल व्यवसायीको क्रियाकलापले टाईम कार्डलाई मजाक बनाइदिएको छ । तसर्थ, राजमार्गमा समयको पाबन्दि मात्रै लगाउने भन्दापनि वैकल्पिक सुरक्षाका उपाय अपनाउनतर्फ सम्बन्धित निकाय चनाखो हुन आवश्यक छ । ट्राफिक प्रहरीले मात्रै सडकलाई सुरक्षित बनाउन सक्दैनन् भन्नेतर्फ सरोकारवाला निकायले सोच्न जरुरी छ ।

विपी राजमार्गमा चाप बढेको भन्दै सुरुङ बनाउनुपर्छ भनेर ठूला भाषण गर्नुभन्दा पनि उपकरणहरुको जोहो गर्नतर्फ जनप्रतिनिधि लगायत सम्बन्धित निकायले अग्रसरता लिनुपर्ने देखिन्छ । दुईवटा राजमार्ग र एउटा लोकमार्ग रहेको सिन्धुलीमा ट्राफिक नियमन गर्न सामान्य उपकरणहरुपनि नहुनु दुर्भाग्य हो । मादक पदार्थ सेवनको परिक्षण गर्ने उपकरण समेत जिल्लामा नहुँदा दुर्घटना रोकथामकालागि प्रहरीलाई टाउको दुखाईको विषय बनेको छ । त्यस्तै, गति मापन गर्ने राडर, ठाउँठाउँमा कन्केभ मिरर (ऐना) लगायत आवश्यक पुर्वाधारको जडान नहुँदा दुर्घटनाको जोखिम घट्न सकेको छैन । ट्राफिक प्रहरीले पनि गाडीमा स्टिकर टाँस्ने बाहेक सुरक्षा व्यवस्था मजबुत बनाउन कुनै नविनतम योजना बनाउन नसक्नु दुर्भाग्य हो । तसर्थ, जिल्लामा दुर्घटना न्युनिकरण गर्न सरोकारवाला निकायले प्रविधियुक्त उपकरण भित्राउन पहल गर्नुपर्ने आवश्यकता छ । अतः साना देखि ठूल्ठूला सवारी गुड्ने विपी राजमार्गलाई सुरक्षित बनाउनतर्फ जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।

प्रतिक्रिया