शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

परदेशिको परिवारको ख्याल गर

बिहिवार , कार्तिक २, २०८०

सिन्धुलीबाट झण्डै पचास हजार बढि युवाहरु परदेशमा पसिना बगाइरहेका छन् । स्वदेशमा रोजगारीको अवसर नपाएपछि विदेशिएका ती युवाहरुको परिवारलाई चाडबाडमा आफन्तको सम्झनाले पिरोल्ने गरेको छ । जिल्लामा विभिन्न संघ, संस्थाले दशैँ लक्षित शुभकामना आदानप्रदान कार्यक्रम संचालन गरिरहेका छन् । जिल्लाका केहि स्थानिय तहले त केहि महिनाअघि तीज मनाउन पैसानै बाँड्यो । तर, परदेशमा बसेका युवाहरुको परिवारलाई लक्षित गरेर कुनैपनि कार्यक्रम संचालन भएनन् । दशैँमा शुभकामना आदानप्रदानको कार्यक्रम आयोजना गरेको स्थानिय सरकारले हालसम्म विदेशिएका परिवारलाई चाडबाड लक्षित कुनैपनि कार्यक्रम संचालन गरेको छैन । स्थानिय सरकार नागरिकको नजिकको सरकार हो । सरकारले अभिभावकत्व प्रदान गर्दछ । तर, राज्यले न त रोजगारीको अवसर सिर्जना गर्न सक्यो न त अभिभावकको भुमिकानै निभायो ।

नेपालको अर्थतन्त्रमा रेमिट्यान्सले ठूलो हिस्सा ओघटेको छ । तर, त्यहि रेमिट्यान्स पठाउने युवाहरुको परिवारको अवस्था कस्तो छ भन्ने कुनैपनि तहको सरकारलाई वास्ता छैन । चाडबाड भाइचारा र सम्बन्धको प्रतिक हो । विदेशमा बस्ने युवाहरुको परिवारलाई राज्यले अभिभावकको भुमिका निभाउनुपर्नेमा बेवास्ता गर्दा परदेशमा युवा र स्वदेशमा तीनका परिवारले आसु झार्नुको विकल्प छैन । तसर्थ, जिल्लाका स्थानिय तह लगाय विभिन्न संघ, संस्थाले चाडबाडको समयमा विदेशीएका युवाहरुको परिवारलाई लक्षित गरि भेटघाट लगायत विविध कार्यक्रमको आयोजना गर्न जरुरी छ । अतः आफ्नो सन्तान स्वदेशमै नभएपनि सरकार स्वदेशमै छ भन्ने अनुभुति दिलाउन सम्बन्धित निकायले अभिभावकत्व प्रदान गर्न आवश्यक छ ।

 

प्रतिक्रिया