सिन्धुलीमा संचालित निजि तथा सरकारी बैंकप्रति सेवाग्राहीले चरम असन्तुष्टि पोखेका छन् । दशैँकालागि बैंक तथा वित्तिय संस्थामा लाईन बसेका सेवाग्राहीले नयाँनोट नपाएपछि आक्रोश पोखेका हुन् । यतिसम्म कि, केहि बैंकमा सेवाग्राहीले आफ्नै पैसापनि झिक्न कठिनाई भएको गुनासो पोखेका छन् । जिल्लाका केहि बैंकले पैसा नभएको भन्दै खातामा भएको पैसापनि नदिई फर्काउने गरेका छन् ।
नेपाली हिन्दु धर्मावलम्वीहरुको महान चाड दशैँ शुरु भइसक्दा आफ्नै खातामा भएको पैसा झिक्नपनि पापड बेल्नुपरेको सेवाग्राहीले गुनासो गरेका छन् । हरेक वर्ष वर्ष दशैँ आउँछ । सेवाग्राहीले हरेक वर्ष दशैँको समयमा बैंकमा सास्ती व्यहोर्नुपरिरहेको छ । सेवाग्राहीको चरम असन्तुष्टिप्रति बैंक तथा वित्तिय संस्था वर्षौँदेखि परिचित भएपनि समाधानकालागि कुनैपनि योजना नबनाएको अवस्था छ । जनशक्ति परिचालनदेखि सेवाग्राहीको व्यवस्थापनमा जिल्लाका बैंक चुकेको अवस्था छ । केहि निजि बैंकले त नयाँनोट रकमको जोहोनै नगरेको पाईएको छ । नाफा आर्जनमा अग्रसर देखिएका बैंक तथा वित्तिय संस्थाले सेवाग्राहीको सेवा, सुविधामा चासो नदेखाएको आरोप लागेको छ । बैंक तथा वित्तिय संस्थाले खाए खा, नखाए...भन्ने व्यवहार देखाएको सेवाग्राहीको गुनासो छ ।
तसर्थ, जिल्लामा रहेका बैंक तथा वित्तिय संस्थाले सेवाग्राहीलाई आवश्यकता पर्दा नजरअन्दाज गर्ने परिपाटी त्याग्न जररी छ । त्यसैगरि, आगामी दिनमा यस्तै समस्या पुनः नदोहोराउन बैंक तथा वित्तिय संस्था गम्भिर हुन आवश्यक छ ।