शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बिदा दिन हतार नगर

मंगलवार , आश्विन ३०, २०८०

सिन्धुलीको केहि सामुदायिक विद्यालयले विजयादशमिको बिदा दिन हतार गरेको भन्दै अभिभावकले गुनासो गरेका छन् । जिल्लाको कमलामाई नगरपालिका स्थित एक सामुदायिक विद्यालयमा गत शुक्रबार विद्यालयमा विद्यार्थी आएपनि शिक्षकहरु नआएको भन्दै गुनासो पोखेका छन् । कमलामाई नगरपालिकामा मात्र नभएर अन्य स्थानिय तहमा पनि केहि सामुदायिक विद्यालयको पठनपाठन ठप्पै जस्तो भएको छ । शिक्षक आन्दोलनले केहि दिन अवरुद्ध भएको पठनपाठनलाई मध्यनजर गर्दै बिदाको दिनपनि पढाउने भन्दै शिक्षहरुले प्रतिबद्धता व्यक्त गरेपनि बिदा दिन हतारो गरेको अवस्था छ । माध्यमिक तहसम्मको शिक्षा स्थानिय सरकारको मातहत रहेपनि अनुगमनमा स्थानिय सरकारले चासो नदेखाएको अवस्था छ । जिल्लाका सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमाथि प्रश्न उठिरहेको बेला चाडबाडलाई देखाएर बिदा दिन हतारो गर्ने विद्यालयको अनुगमन गर्नतर्फ स्थानिय सरकार गम्भिर हुन जरुरी छ ।

जिल्लाका स्थानिय तहको शिक्षा शाखा गम्भिर नहुँदा सामुदायिक विद्यालय मनोमानी ढंगमा संचालन भइरहेको केहि घट्नाले देखाउँछ । तीनपाटन गाउँपालिका ३ स्थित पाटनदेवि माध्यमिक विद्यालयमा समयमै प्रश्नपत्र नपाएको भन्दै विद्यार्थीले तालाबन्दी गरेको घट्ना नसेलाउदैँ अन्य सामुदायिक विद्यालयले बिदा दिन हतारो गरेको भन्दै अभिभावकले विरोध गरेका छन् । शिक्षक आन्दोलित हुँदा बालबालिकाको शिक्षामा असर परेको भन्दै अभिभावकले कोचिङ कक्षा संचालन गर्नुपर्ने माग गर्दै आएका छन् । तसर्थ, जिल्लाका सामुदायिक विद्यालयको अवस्थाका बारेमा निगरानि गर्नतर्फ जिम्मेवार निकाय सचेत हुन जरुरी छ । अतः विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने अधिकार कसैको छैन भन्ने हेक्का सरोकारवाला निकायले राख्नुपर्दछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया