सिन्धुलीमा प्रकृतिले दिएको उपहार खेर गइरहेको छ । जिल्लामा उपलब्ध करोडौँ मूल्य पर्ने जडिबुटिहरुको सदुपयोग नहुँदा वर्षेनि जंगलमै खेर गइरहेको छ । प्रशोधन केन्द्रको अभाव र बजार आपूर्तिमा देखिएको समस्याका कारण जडिबुटिहरु प्रयोगविहिन भएका छन् । विश्व बजारमा जडिबुटिको माग व्यापक छ । तर, सिन्धुलीमा भने प्राकृतिक जडिबुटि खेर गइरहेको अवस्था छ । उपभोक्ताहरुमा जडिबुटिको उपयोगिताका बारेमा ज्ञान नुहँदा पनि आँखै अगाढी नाश हुने गरको छ । जिल्लाका स्थानिय तहमा विभिन्न प्रजातिका जडिबुटिहरुको भण्डार छ । तर, ती जडिबुटिहरुलाई प्रयोगमा ल्याउन पहल गरिएको छैन । स्थानिय उत्पादनलाई कसरी बजारसम्म पुर्याउने भन्नेमा विशेष ध्यान दिन जरुरी छ ।
जिल्लामा उपलब्ध भएका जडिबुटिको प्रशोधन र बजारकालागि स्थानिय तह लगायत सम्बन्धित निकायले जोड गर्न आवश्यक छ । जडिबुटि प्रयोगमा ल्याउन सके राजश्व संकलन देखि रोजगारीसम्मका कुराहरु आउँछन । प्रकृतिले नै दिएको वस्तुको प्रयोग गर्न सके त्यसले समग्रमा देशलाई नै फाइदा पुर्याउँछ । अतः प्रकृतिले दिएको उपहारलाई सदुपयोग गर्दै जिल्लाको समग्र अर्थतन्त्रलाई मजबुत बनाउने तर्फ सम्बन्धित निकाय गम्भिर हुनुपर्दछ ।