जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा बसेको सर्वपक्षिय बैठकले विपी राजमार्गमा गुड्ने सबै सवारीलाई टाईम कार्डको नियम लागु गरेको छ । यस्तै, बैठकले विपी राजमार्ग अन्तर्गत विभिन्न सडकखण्डमा लागु गरिएको समयसिमामा समेत फेरबदल गरेको छ । दुर्घटना न्युनिकरणकालागि विपी राजमार्गमा लागु गरेको नयाँ नियम स्वागतयोग्य छ । तर, सडक सुरक्षाकालागि समयावधिसँगै उपकरण भित्राउन पहल गर्नुपर्ने आवश्यकता देखिएको छ । सिन्धुलीमा तीनवटा राजमार्ग छन् । विपी, मदन भण्डारी राजमार्ग र पुष्पलाल लोकमार्ग रहेको सिन्धुलीमा सवारीको चाप बढ्दो छ । जिल्लामा सवारी अनुशासन उल्लंघन र तीव्र गति सवारी दुर्घटनाको मुख्य कारण रहेको ट्राफिक प्रहरीको अनुसन्धानले देखाएकोे छ । दुर्घटना न्युनिकरणकालागि नियमसँगै उपकरण्को प्रयोग गर्नतर्फ सम्बन्धित निकायले चासो देखाउन जरुरी छ । तीनवटा राजमार्ग रहेको सिन्धुलीमा सडक सुरक्षाकालागि सामान्य उपकरण पनि नहुनु दुर्भाग्य हो । तसर्थ, गाडिको गति मापन गर्ने यन्त्र (राडार गन), मापसे चेकजााच गर्न ब्रेथलाइजर मेसिन लगायत दुर्घटना न्युनिकरणकालागि विभिन्न उपकरण जिल्लामा ल्याउन यहाँका स्थानिय सरकार, जनप्रतिनिधि लगायत सरोकारवाला निकायले पहल गर्न आवश्यक छ ।
जिल्लामा ट्राफिक व्यवस्थापनकालागि विभिन्न उपकरण तथा सामाग्रीको आवश्यक छ । अहिलेको युग प्रविधिको युग हो । त्यसैले, जिल्लाका सरोकारवाला निकायले सडक सुरक्षाकालागि प्रविधिको उपयोग गर्नतर्फ विशेष जोड दिन जरुरी छ । अतः सडक सुरक्षाकालागि नागिरकको चेतनास्तरको वृद्धिसँगै नियमन गर्न उपकरणको पनि व्यवस्था गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।