सिन्धुलीमा आयोजनाहरुको शिलान्यास र उदघाटनकालागि अघि बढ्ने जनप्रतिनिधिले अनुगमनमा भने चासो नदेखाएको अवस्था छ । आयोजनाको शिलान्यास गर्न अग्रपंक्तिमा देखिने जनप्रतिनिधिले त्यसपछि निर्माण अवधिसम्म फर्केरपनि उक्त आयोजनालाई नहेर्ने गरेको स्थानियको गुनासो छ । जिल्लामा संघ, प्रदेश र स्थानिय तहले वर्षेनि पुर्वाधार निर्माणमा अर्बौँ लागनी गरिरहेका छन् । तर, अधिकांश आयोजनाहरु निर्धारित समय भन्दा ढिलो सम्पन्न हुने गरेको छ । तीनै तहको सरकार मातहतका कार्यालयले विभिन्न कारणहरु देखाएर पुर्वाधार निर्माणमा ढिलाई भएको बताउदैँ भएका छन् । बजेटको अभाव, मुआब्जा लगायत विविध कारणहरुले निर्धारित समय भन्दा ढिलो योजना शुरु हुने र समयमै आयोजना सम्पन्न गर्न मुश्किल भएको कर्मचारीको भनाई छ ।
जिल्लामा रहेका सरकारी कार्यालयलाई काम गर्न सहज बनाइदिन जनप्रतिनिधिको भुमिका अहम हुन्छ । तर, केन्द्रदेखि प्रदेशका प्रतिनिधिले जिल्लामा संचालनमा रहेका आयोजनाहरुप्रति चासो नदेखाएको अवस्था छ । यतिमात्र नभएर जनप्रतिनिधिले कर्मचारीसँगै मिलेर विभिन्न आयोजनाबाट कमिशन लिने गरेको समेत आरोप लाग्दै आएको छ । तसर्थ, जिल्लामा संचालनमा रहेका अर्बौँको योजनाहरुको वर्तमान अवस्था, जटिलता र गुणस्तरीयताका बारेमा जनप्रतिनिधि गम्भिर हुन जरुरी छ ।
जिल्लाका केहि विकासे कार्यालयले मिलेमत्तोमा ठेक्का सुम्पिने गरेको समेत व्यवसायीले गुनासो गरेका छन् । बोलपत्र आह्वान गर्दा आफू अनुकुलका फर्मलाई पायक पर्ने गरि कार्यालयले मापदण्ड बनाउने गरेको केहि व्यवसायीले आरोप लगाएका छन् । त्यस्तै, निर्माण कम्पनिको प्रलोभनमा परि गुणस्तरहिन काम देख्दादेख्दै सरकारी संयन्त्रले आँखा चिम्लने गरेको दोष लागेको छ । तसर्थ, जिल्लामा संचालित विभिन्न योजनाहरुको अनुगमन गर्नतर्फ जनप्रतिनिधि, जिल्ला प्रशासन लगायत सरोकारवाला निकाय गम्भिर हुन जरुरी छ । अतः शिलान्यास र उदघाटनमा रमाउने शरिरलाई अनुगमन र निगरानितर्फ डोराउन कसरत गर्नुपर्ने आवश्यकता छ ।