शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

विद्यालयलाई राजनीतिक अखडा नबनाऔँ

मंगलवार , आश्विन २३, २०८०

सिन्धुलीको तीनपाटन गाउँपालिका ३ स्थित कोटगाउँमा रहेको पाटनदेवी माध्यमिक विद्यालयमा विद्यार्थीले तालाबन्दी गरेका छन् । सोमबार परिक्षामा प्रश्नपत्र नपाएपछि विद्यार्थीले तालाबन्दी गरेका हुन् । यसअघिपनि तीनपाटनको वडा नम्बर १ मा रहेको कमला माध्यमिक विद्यालयमा चार महिना देखि शिक्षक भर्ना हुन नसकेको भन्दै पठनपाठनलाई सहज बनाउन मागसहित विद्यार्थीहरुले तालाबन्दी गरेका थिए । शिक्षक नियुक्तिमा स्थानिय सरकार पूर्वग्राही भएपछि विरोध भएको विद्यार्थीले गुनासो गरेका छन् । स्थानिय तह मातहत रहेको माध्यमिक तहसम्मको शिक्षा सुधारमा जनप्रतिनिधिको भुमिका अहम हुने भएपनि बढ्दो राजनीतिकरणले शिक्षा क्षेत्रमा बेथिति बढेको छ । स्थानिय सरकारदेखि विद्यालय व्यस्थापन समितिले प्रधानाध्यापक देखि शिक्षक नियुक्तिमा आफू अनुकुलका व्यक्तिलाई प्राथमिकता दिँदा क्षमतायोग्य उम्मेद्वार पाखा लाग्ने अवस्था छ । शिक्षालाई आधुनिक राज्य निर्माणको मेरुदण्ड मानिन्छ । शिक्षा नै विकासोन्मुख देशको समृद्धिको आधार पनि हो । बालक देखि वृद्धसम्मलाई सिकाईको अवसर र आधार दिने विद्यालय हो । विद्यालय मार्फत बालबालिकाहरुले शिक्षाको आवश्यकतालाई महसुस गर्ने गरेका छन । तर, सिन्धुलीमा शिक्षाको अवस्था सबैभन्दा बेहाल छ । तसर्थ, शिक्षा क्षेत्रको बेथिति हटाउन सरोकारवाला निकाय गम्भिर हुन आवश्यक छ ।

शिक्षक नियुक्तिमा विभिन्न चलखेल हुने गरेको शिक्षकलेनै गुनासो गरेका छन् । त्यस्तै, स्थानिय सरकारको नेतृत्वकर्तालेनै विद्यालयमा राजनीति घुसाएपछि शिक्षा क्षेत्रको बेहाल भएको छ । तसर्थ, जिल्लाका शैक्षिक क्षेत्रमा बढ्दो राजनीतिकरणलाई निरुत्साहित पार्न जिम्मेवार निकायले आवश्यक कदम चाल्नुपर्दछ । अतः विद्यालयलाई राजनीतिक अखडा बन्न नदिन सरोकारवाला निकायले खबरदारी गर्न जरुरी छ ।

प्रतिक्रिया