शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

गाउँगाउँमा अनुगमनलाई तिव्रता देऊ

सोमवार , आश्विन २२, २०८०

सिन्धुलीको मरिण गाउँपालिकामा छुट्टै ब्राण्डको चामलको बोरामा कमशल चामल रिप्याकेजिंग गरेको आरोपमा एक व्यवसायीलाई दुई लाख ५० हजार रुपैँया जरिवाना तिराएको छ । दशैँ लक्षित बजार अनुगमनको क्रममा सा व्यापारीको गैरकानुनी धन्दा फेला परेको हो । जिल्लाको अन्य स्थानिय तहमा पनि रिप्याकेजिंग गरेर सामाग्री विक्री वितरण भइरहेको गुनासो आएको छ । रिप्याकेजिंग मात्रै नभएर चर्को मूल्यमा दैनिक उपभोग्य सामाग्री विक्री वितरण हुँदा उपभोक्ता मारमा परेका छन् । अनुगमन टोलीले सदरमुकामलाई भन्दा ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखेर अनुगमनलाई तिव्रता दिनुपर्ने आवाजहरु उठिरहेको छ । विशेषगरि, जिल्लाका भित्रि स्थानिय तहहरुमा उपभोक्ताहरु ठगिमा परेका छन् । दशैँमा बजार चलायमान हुनेहुँदा केहि व्यापारी तथा व्यवसायीले उपभोक्ता हित विपति गैरकानुनी कार्य गरिरहेको आरोप लागेको छ । तसर्थ, जिल्लाका स्थानिय सरकार लगायत अनुगमन समितिले बजार अनुगमनलाई थप तिव्रता दिनतर्फ विशेष जोड दिन आवश्यक छ ।

जिल्लाको हरिहरपुरगढी, मरिण, तीनपाटन, घ्याङ्लेख, फिक्कल लगायत अधिकांश स्थानिय तहमा नक्कली व्यापारीको चहलपहल बढेको छ । बाहिर जिल्लाबाट आएर कर छलि गरेको सामाग्री विक्री वितरण भइरहेको व्यवसायीहरुले गुनसो गरेका छन् । तसर्थ, गाउँगाउँमा अनुगमन विस्तार गर्नतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक छ । त्यसैगरि, थोक विक्रेताले खुद्रा व्यापारीलाई महंगो मूल्य लिने गरेको समेत गुनासो छ । अतः बजार अनुमगनमा साना माछालाई मात्रै निशाना लगाउने भन्दापनि ठूला माछाको समेत निगरानि गर्नुपर्ने आवश्यकता छ ।

प्रतिक्रिया