शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सडक सुरक्षामा गम्भिर बनौँ

आइतवार , आश्विन २१, २०८०

सिन्धुलीमा वर्षेनि सडक दुर्घटनामा परि मृत्यु एवं घाईते हुनेको संख्या बढ्दो छ । राजमार्ग लगायत ग्रामीण सडकमा सवारीको चाप बढेसँगै दुर्घटनामा पनि वृद्धि भएको हो । विशेषरि, चाडवाडको समयमा बाक्लै सवारीसाधन गुड्ने हुँदा दुर्घटनाको जोखिमपनि बढ्ने गर्दछ । देशको संघीय राजधानि काठमाडौँसँग पुर्वि जिल्लाको दुरि छोटाएको विपी राजमार्गमा दैनिक सयौँ साना तथा ठूला सवारीसाधन आवतजावत गर्दछन् । दशैँको समयमा त दैनिक हजारौँ सवारीसाधन गुड्ने हुँदा दुर्घटनाको जोखिम उच्च हुने गर्दछ । नेपाली हिन्दु धर्मावलम्वीहरुको महान चाड विजयदशमीको अवसरमा घर फर्किनेको लर्कोनै लाग्ने गर्दछ ।

मोटरसाइकल देखि साना तथा ठूला सवारीसाधनको चाप राजमार्गमा बढ्ने हुँदा नियमनकारी निकायले निगरानि बढाउनुपर्ने आवश्यकता देखिन्छ । तिव्र गति, साँघुरो सडक, ओभरटेक, लगायत सवारीचालकको लापर्वाहीका कारण राजमार्गमा दुर्घटना बढेको प्रहरीको तथ्यांकले देखाउँछ । तसर्थ, दशैँ लक्षित बृहत सडक सुरक्षाका कार्यक्रम संचालन गर्नतर्फ जिल्ला ट्राफिक कार्यालय लगायत सरोकारवाला निकाय गम्भिर हुन आवश्यक छ ।

दशैँको समयमा राजमार्गमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि दुर्घटनाको जोखिम उत्तिकै हुने गर्दछ । थोत्रा गाडीमा यात्रु खचाखच भरेर खाल्डाखुल्डीको बाटो यात्रा गर्न जोखिमयुक्त छ । तसर्थ, अन्य समयमा भन्दा दशैँको समयमा ट्राफिक व्यवस्थापनमा सम्बन्धित निकायले विशेष ध्यान पुर्‍याउन जरुरी छ । ठाउँठाउँमा सहायता कक्षको स्थापना, सिसिटिभि क्यामेराको मर्मत लगायत ट्राफिक चेकजाँचको व्यवस्था गर्नतर्फ जिम्मेवार निकाय गम्भिर हुनुपर्ने आवश्यक छ । अतः सानो गल्तिका कारण ठूलो क्षति हुन नदिन सवारीचालकदेखि यात्रु सचेत हुन जरुरी छ ।

 

प्रतिक्रिया