सिन्धुलीमा सार्वजनिक ओहोदामा बसेर दुर्वचन, गालीगलौज र असभ्य भाषाको प्रयोग बढिरहेको छ । सार्वजनिक व्यक्तिले सार्वजनिक स्थानमा प्रयोग गरेको असभ्य भाषाले समाजमा नकारात्मक संदेश दिइरहेको छ । शिक्षकदेखि जनप्रतिनिधि र समाजका अगुवालेनै बाटो बिराएपछि वाकहिंसाले प्रश्रय पाइरहेको छ । आलोचना सहनै नसक्ने र वाकयुद्धमा होमिने प्रवृद्धिले समाजमा दुर्गन्ध बढाएको छ । विशेषगरि, सामाजिक संजालमा सार्वजनिक व्यक्तिले प्रयोग गर्ने भाषाले ठूलो माहिने राख्दछ । तर, जिल्लाका केहि जनप्रतिनिधिले सामाजिक संजालबाटै धम्की र गालीगलोजसहित नकारात्मक टिकाटिप्पणी गरिरहेको अवस्था छ । कोही पनि व्यक्ति आलोचना प्रतिरक्षित हुन सक्दैन । कुनै न कुनै परिवेश वा कुरामा आलोचित हुन पुग्छन् नै ।
सधैँ सही र निपुण हुन सकिँदैन । जानी नजानी गल्ती हुने गर्छन् । जुन कुनै हैसियतमा रहेर जति सुकै राम्रो काम गरे पनि मान्छेले आलोचना गर्ने ठाउँ भेट्छन् । खोट देखाउने बहाना पाउँछन् । आलोचनात्मक टिप्पणीले पीडा अवश्य दिन्छ । तर, आलोचनाको प्रतिरक्षामा अप्रिय र उत्शृंखल शब्दको प्रयोग नगर्न सबै सचेत हुन जरुरी छ । तसर्थ, राजनैतिक दलले आफ्ना नेता तथा कार्यकर्ता, जिल्ला प्रशासनले कर्मचारी तथा अभिभावकले परिवारको सदस्यलाई अनुशासनमा राख्न गम्भिर हुन जरुरी छ । अनुशासनहिन समाजलाई दुषित बनाउँछ । अतः सार्वजनिक देखि साधारण नागरिकले आफूले बोलेका शब्दहरुले समाजका कस्तो असर पर्छ भन्ने हेक्का राख् जरुरी छ ।