सिन्धुलीका एक युवाको मलेसियामा मृत्यु भएको भन्दै एक सातादेखि सामाजिक संजाल भरिएको छ । तीन वर्षअघि ती युवाको मलेसियामा मृत्यु भएपनि सामाजिक संजालमा आफन्तको खोजी अहिले भइरहेको छ । त्यसैगरि, केहि दिनअघि भारतमा सिन्धुलीका युवाको मृत्यु भएको भन्दै अफवाह फैलियो । ती युवाको मृत्यु भने भइसकेको थिएन । यि दुई घट्ना त प्रतिनिधि घट्नामात्र हो । सामाजिक संजालमा कागले कान लग्यो भन्दा, कान छाम्ने भन्दापनि कागसँगसँगै दौडिनेको भिड छ । पछिल्लो समय सामाजिक संजाल अफवाह फैलाउने माध्यम बनेको छ । मृत्यु अघिनै श्रद्धाञ्जली अर्पण गर्न हतारिने जमातले लाईक र कमेन्टकैलागि मानविय संवेदना बिर्सिएको अवस्था छ । अपुष्ट जानकारी सार्वजनिक गर्दै समाजलाई गुमराहमा राख्ने ‘ट्रेन्ड’ ले प्रश्रय पाइरहेको छ । तसर्थ, सामाजिक संजालको दुरुपयोग बढिरहेको अवस्थामा नागरिकलाई साईबर क्राइम लगायत साईबर सुरक्षाका बारेमा जानकारी दिन सम्बन्धित निकायले चासो देखाउन जरुरी छ ।
सामाजिक संजालबाटै ठगि तथा मानव तस्करी हुने गरेको केहि घट्ना सार्वजनिक भएको छ । ठग्ने सोचलेनै प्रलोभनमा पारेर अवैद्य क्रियाकलाप गर्ने गिरोह सक्रिय भएको हुँदा इन्टरनेट प्रयोगकर्ता सजग हुन आवश्यक छ । सामाजिक र धार्मिक सदभाव भड्किने सामाग्री प्रचारप्रसार गर्नेलाई कानुनको दायरामा ल्याउन जिम्मेवार निकाय गम्भिर हुनुपर्दछ । अतः सामाजिक संजालको सदुपयोग गर्दै इन्टरनेटको राम्रा पक्षबाट फाईदा लिनतर्फ प्रयोगकर्ता सचेत हुन जरुरी छ ।