सिन्धुली – अमिलो जातको फल जुनारमा एक पछि अर्को रोग देखा पर्न थालेको छ । सिन्धुलीको प्रमुख नगदे फलफुलको रुपमा रहेको जुनार निबुवा सुन्तला कागती जस्ता अमिलो जातको फलफुलमा चाइनिज सिटस फ्लाई किराकोे प्रकोप न्युनिकरण भएसँगै सुडे पुतलीको प्रकोप देखा पर्न थालेको छ ।
विगतको बर्षमा भन्दा यस बर्ष जुनारमा किराको प्रकोप कम देखिएको समयमा सुडे पुतलीले जुनारमा क्षति गर्न थालेको हो । पुतलीले राती र विहानको समयमा फलको रस चुस्ने र क्षति गर्ने काम भएको जुनार जोनका कार्यालयका प्रमुख रमेश हुमागाईले बताउनुभयो । उहाँका अनुसार यो सिजनको जुनारमा पुतलीको प्रकोप बढ्ने भएकाले किसानले सजग हुनुपर्नेछ । झरेका फललाई जम्मा गरि प्लाष्टिकमा प्याक गरि खाल्डोमा पुर्ने,बगैचामा उज्यालो राख्ने, किरा मार्ने सामुहिक अभियान चलाएर सबै किरा मार्ने लगायतका कार्यहरु गर्नुका साथै प्राविधिकहरुसँग आवश्यक सल्लाह लिनुपर्ने उहाँको भनाई छ । जिल्लाको पुर्वी पहाडी भागको मुख्य नगदे फलफुलको रुपमा परिचित जुनारमा फलमा केहि बर्ष अगाडी फल कुहाउने औषा पार्ने झिगा चाइनिज सिट्रस फ्लाई ब्याक्ट्रोसेरा मिन्याक्स ले जुनार र निबुवा लगायतका फल कुहाउन सुरु गरेपछि कार्यालयले क्षेत्रगत किरा नियन्त्रण अभियान सञ्चालन गरि जुनारमा प्रोटिन बेट स्प्रे गरेपछि प्रकोपमा कमी आएको थियो । बाहिरी जिल्लाबाट जुनारको विरुवा परिक्षणनै नगराई बगैचामा ल्याएर रोपेमा विभिन्न प्रकारको प्रकोपको जोखिम हुने प्राविधिकहरु बताउछन् । बाहिरी विरुवा ल्याएर रोप्दा जुनारमा ग्रिनिङले जुनारका बोटनै सुक्ने समस्या आएको थियो ।
सिट्रस ग्रिनिङ रोगले सिन्धुलीको जुनार मासिदै थियो । बाहिरी नर्सरीबाट पिसिआर बिनाकै विरुवा ल्याएर रोप्दा यस्तो समस्या आएको कृषि विज्ञहरुको भनाई छ । सिन्धुलीको प्रख्यात फल जुनारमा सिट्रस ग्रिनिङ रोगको समस्या देखा पर्न थालेसँगै जुनारका बोट किसानले विभिन्न समयमा काट्ने गरेका छन् सिट्रस सिला नामक किराले उक्त बोट सखाप पार्न थालेपछि बोटनै काटुपर्ने परिस्थिति श्रृजना भएको किसान बताउछन् ।
गत बर्ष जिल्लाका विभिन्न स्थानमा गरि ४८ हेक्टर क्षेत्रफलमा लगाइएको जुनारका बोट संक्रमित भएको किसानहरुको भनाई छ । यो रोग लागेपछि अन्य रोगको जस्तो समस्याको समाधान हुदैन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन इकाई सिन्धुलीका प्रमुख रमेश हुमागाईले भने बोटनै मास्नु पर्ने बताउनुभयो । उहाँले पिसिआर गरेको मान्यताप्राप्त नर्सरीबाट ल्याएको विरुवामात्रै रोप्नुपर्ने बताए । बाहिरी जिल्लाका विरुवाहरु भित्र्याउदा यस्तो समस्या भएको उहाँको भनाई छ । जिल्लाको प्रमुख नगदे फलको रुपमा रहेको जुनारमा विभिन्न रोग देखा परेपछि बर्षौदेखि जुनार खेती गर्दै आएका किसान चिन्तामा परेका छन् । जुनारको विरुवा लिदा ११०० मिटर भन्दा बढी उचाईमा रहेको नर्सरीबाट मात्रै लिन किसानलाई प्राविधिकको सुझाव छ । रोग लागेको शंका लागेमा पिसीआर गराउनुपर्ने र बगैचामा रोग देखिए नष्ट गरेमा अन्यन्त्र रोग सर्ने संम्भावना कम हुने कृषि विज्ञको भनाई छ । सिन्धुलीका महाभारत क्षेत्र अन्तर्गत रतनचुरा, जलकन्या, वाशेश्वर, तीन कन्या, मझुवा भुवनेश्वरीलगायतका क्षेत्रमा किसानले व्यावसायिक जुनारखेतीमा गर्दै आएका छन् ।