सिन्धुली– झिँगटी र पातला ढुङ्गाको छाना भएका ठूला घर अब गाउँमा देख्दा अनौठो लाग्छ । पहिले पहिले सभ्रान्त परिवारको चिनारीका रुपमा रहेका त्यस्ता घर अहिले खण्डहर बनेका छन् । जसोतसो २०७२ सालअघि त्यस्ता घर मर्मतसम्भार गरेर काम चलाइए पनि भूकम्पपछि साना घर निर्माणको लहर आयो ।
कला, संस्कृति र पहिचाहनसहितका घर जातीय हिसाबले रंग्याइएका हुन्थे । मगर, हायुँ, तामाङ, नेवार र अन्य जातिको घरको बनावट र सजावटले परैबाट हेर्दा चिनिन्थ्यो । तर २०७२ सालको विनाशकारी भूकम्पपछि ती घरसँगै पहिचान पनि नासिएर जान लागेको छ । भूकम्पपछि निर्माण भएका घर एउटै मापदण्डको बनाउनुपर्ने भएपछि अब के तामाङ, के माझी, के क्षेत्री, सबैको एकै रङ र बनावट हुने गरेको छ ।
फरक फरक समुदायका फरक हुन्थे । अहिले सब एकनासका छन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले दिएको नक्साभन्दा यताउता नगरी घर बनाउँदा जातीय संस्कृति अनुकूलका घर बन्न सकेनन् । “भूकम्प प्रतिरोधी मापदण्ड कायम गरेर पनि हाम्रो जातीय अनुकूलताका घर बनाउन सकिने रहेछ, त्यो कुरा कसैले भनिदिएन”, सुनकोशी गाउँपालिका–४ का ज्ञानध्वज लामा भन्नुहुन्छ, “पैसा सकियो, घर बिग्रियो, पहिचान पनि गुम्यो ।”
विसं २०७२ को विनाशकारी भूकम्पले भत्काएका रामेछापका करिब ५० हजार घरको लगभग पुनःनिर्माण सकिएको छ । पुनःनिर्माण भएकामध्ये झण्डै ७५ प्रतिशत घर दुई कोठे बनेका छन् । केहीले एक कोठे र केहीले तीन कोठे बनाएका छन् । प्राधिकरणले दिएको अनुदानको भरथेगमा जिल्लामा झण्डै १० प्रतिशतले भने पक्की घर निर्माण गरेका छन् ।
प्राधिकरणले दिएको नमूना नक्सामा एक कोठेदेखि दुई तले र बहुकोठे घर पनि थिए । ती नक्सामा कसैले चासो दिएनन् । भवन निर्माणका लागि दिएको अनुदानबाट पुग्ने र अनुदान नै बचाउने गरी सानाभन्दा साना घर बनाउने होड नै चलेकाले पनि परम्परागत शैली हराउन पुग्यो ।
पुनःनिर्माणको अभियान सकिने बेला राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछि निर्माण भएका घरमा कोठा थप्न सक्ने निर्णय गरेको थियो । “उक्त निर्णय पहिल्यै आएको भए काम लाग्ने घर बन्न सक्ने थिए”, फिक्कल गाउँपालिकाका पुर्व अध्यक्ष धन बहादुर कार्की भन्नुहुन्छ, “पुनःनिर्माण भएका अधिकांश घरले पहाडको सन्दर्भमा कामै दिँदैनन्, कता खाना पकाउनु, कता भण्डारण गर्नु, बाख्रोपाठो लुकाउने कि पाहुना सुताउने रु” कार्कीले भन्नुभयो, “सहरमा बस्नेले सानो परिवारलाई कल्पना गरेर बनाएको नक्साले गाउँ बर्बाद बनायो, आवश्यकता र पहिचानभन्दा पनि भूकम्पको घर भन्दै भटाभट दुई कोठे बनाएर अनुदान लिने काम भयो ।” अब तिनैमा तला थप्ने अभियान चल्ला ।